
गोपाल आचार्य
ताकम, ः म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा आइतबार सम्पन्न निशूल्क बृहत स्वास्थ्य शिविरबाट करिब पाँच सय जना लाभान्वित भएका छन् ।
धवलागिरी गाउँपालिका र म्याग्दी पोखरा चौतारीले पोखराको मेट्रोसिटी हस्पिटल र नेपाल चिकित्सक संघको प्राविधिक शिविरमा आयोजना गरेको शिविरमा चार सय ८५ जनाले स्वास्थ्य उपचार सेवा पाएका हुन् ।
शिविरमा स्वास्थ्य परिक्षण, हाडजोर्नी तथा नसा, स्त्रीरोग, नाक कान घाँटी, फिजियोथेरापी, भिडियो एक्सरे, परामर्श र निशूल्क औषधी वितरण गरिएको म्याग्दी पोखरा चौतारीका सदस्य हरि घिमिरेले जानकारी दिनुभयो । एक सय जनालाई भिडियो एक्सरे सेवा दिइएको आयोजकले जनाएका छन् ।

ताकम, धारापानी, मुना, लुलाङ, गुर्जा, मुदीका बासिन्दाले सेवा पाएका छन् । हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. भरत खत्रीको नेतृत्वमा गण्डकी, मेट्रोसिटी र मणिपाल शिक्षण अस्पतालका १८ जना विशेषज्ञ चिकित्सकहरुले सेवा दिनुभएको थियो ।


फिजिसियन अनुषा कर्ण, सुदीपकुमार सुवेदी, शाहकृष्ण सुनुवार, मदन सापकोटा, स्त्रीरोग विशेषज्ञ सविन श्रेष्ठ, मेरिना श्रेष्ठ, मानसिक रोग विशेषज्ञ राजन शर्मा, नाक कान घाँटी रोग विशेषज्ञ अशोककुमार महतो, भिडियो एक्सरे सम्बन्धी सेवा डा. सुस्मित काफ्लेले दिनुभएको थियो ।
पोखरामा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी–पोखरा चौतारीका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोपाल घिमिरेले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र पोखराका विभिन्न अस्पतालहरुसँग समन्वय गरेर शिविर आयोजना गरिएको बताउनुभयो ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ग्रामिण क्षेत्रमा आएर स्वास्थ्य शिविर मार्फत सेवा दिएकोमा म्याग्दी पोखरा चौतारी, अस्पताल र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिनुभयो । धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले स्वास्थ्य शिविर लगायत सामाजिक गतिबिधिको निरन्तरताका लागि अनुरोध गर्नुभयो ।

