
बेनी। गण्डकी प्रदेश सरकारले स्थापनाको नौ वर्षको अवधीमा एक हजार एक सय किलोमिटर भन्दा बढी सडक कालोपत्र गरेको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री गोविन्द नेपालीले बताउनु भएको छ ।
बेनीमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघको ३२ औ वार्षिक साधारणसभामा मन्त्री नेपालीले सडक पूर्वाधार विकासतर्फ एक हजार एक सय ६८ किलोमिटर सडक कालोपत्र, एक सय १८ वटा सडक पुल तथा ८८ वटा झोलुङ्गे पुल निर्माण भई नागरिकको सेवा, बजार र अवसरमा पहुँच विस्तार भएको बताउनुभयो ।
गण्डकीको ९९ दशमलब ९८ प्रतिशत घरधुरीमा विद्युत पहुँच र ‘एक घर, एक धारा’ कार्यक्रम मार्फत एक लाख ६६ हजार घरधुरीमा निजी धारा जडान भएको, प्रदेश मातहतका १३ वटा अस्पतालको स्तरोन्नति र विस्तार गरी तीन सय बाट आठ सय शैयासम्म पु¥याई विशेषज्ञ सेवा समेत थप गरिएको मन्त्री नेपालीले बताउनुभयो ।



“प्रशासनिक पुनसंरचना मार्फत कार्यालय संख्या र दरबन्दी कटौती गर्ने होस यास सामाजिक जागरणको अभियानमा प्रदेश सरकार मार्फत महत्वपूर्ण उपलब्धी भएपनि समाजमा केही पनि भएन भनेर भ्रम फैलाइनु दुःखद पक्ष हो,” उहाँले भन्नुभयो “लामो त्याग, बलिदान र तपस्याबाट प्राप्त राजनीतिक उपलब्धी र संबिधानलाई सिध्याउने नियतका साथ फैलाइएका भ्रमलाई हामीले ब्यवहारबाट गलत सावित गर्नुपर्ने चुनौति छ ।”
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली, हरिबहादुर भण्डारी, संविधानसभा सदस्य रेशम बहादुर बानिया, गोविन्द पौडेल, नेपाली काँग्रेसका भरत रकाल, नेकपा एमालेका बालकृष्ण सुवेदी, नेपाली कम्युनिष्ट पार्टीका सेरबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले म्याग्दीको पूर्वाधार विकासमा प्रदेश सरकारले प्राथमिकता दिन सुझाव दिनुभयो ।
प्रदेशसभा सदस्य जुग्जालीले बेनी–दरवाङ सडकमा पर्ने फापरखेतको पहिरोको विकल्पमा सडक पुल बनाउने मुख्यमन्त्रीको प्रतिवद्धता कार्यान्वयन गराउन, अधुरा आयोजनालाई पूर्णता दिन पर्याप्त बजेट बिनियोजन गर्न र रणनीतिक महत्वका आयोजनालाई निरन्तरता तथा थप गर्न मन्त्री नेपालीको ध्यानाकर्षण गराउनुभएको थियो ।

