
बेनी,— गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन) ले बुर्तीवाङ–तमानखोला–सोले–म्याग्दी सडकलाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाउन प्रदेश सरकारसँग प्रस्ताव गर्नुभएको छ ।
म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित जुग्जालीले गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा बिहिबार प्रदेशसभामा भाग लिँदै उक्त सुझाव दिनुभएको हो ।
मध्य पहाडी लोकमार्गको बुर्तीवाङ देखि तमानखोला, सोले–दरवाङ जोड्ने सडक स्तरोन्नति गर्न सकेमा लुम्बीनी र कर्णालीका बासिन्दाहरुलाई कोरला नाकाबाट सामान आयात निर्यात गर्न सहज हुने देखि मुक्तिनाथ, रारा लगायत पर्यटकीय स्थलको विकासमा सहयोग पुग्ने सांसद जुग्जालीको भनाई छ ।
उहाँले धौलागिरि क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि रणनीतिक महत्व बोकेको बुर्तीवाङ–तमानखोला–सोले–म्याग्दी सडकलाई प्राथमिकतामा राखी प्रदेशको गौरवको आयोजनाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

जलविद्युत् आयोजनाबाट प्रभावित जिल्लाका बासिन्दालाई थप अवसर उपलब्ध गराउन सेयर लगानीको कोटा वृद्धि गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै जुग्जालीले यस विषयमा गण्डकी प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदमार्फत पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।

प्रभावितलाई जलविद्युत आयोजनाले दिने १० प्रतिशत सेयर लगानीको अवसरमा हालको नीतिगत ब्यवस्थाले पालिकालाई पनि नसमेटेको र टाठाबाठाहरुले मात्र हालिमुहाली गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कृषि क्षेत्रको सन्दर्भमा उहाँले कृषि औजार खरिद कार्यक्रममा व्यावहारिक सुधार आवश्यक रहेको बताउनुभयो । एक लाख रुपैयाँ मूल्यका कृषि औजारलाई एक लाख ५० हजार रुपैयाँ मूल्याङ्कन गरेर उपलब्ध गराउने व्यवस्थाले कृषकको आकर्षण घटेको भन्दै त्यसलाई सुधार गर्न सुझाव दिनुभयो ।
खानेपानी आयोजनाका लागि आवश्यक सामग्री खरिद प्रक्रियामा देखिएका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो । यस्तै, संघीय सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपतमा पाँच प्रतिशत कर लगाउने व्यवस्था गरिबमुखी नभई विपन्न तथा ग्रामीण क्षेत्रलाई असर गर्ने नीति भएको टिप्पणी गर्नुभयो ।
उहाँले उक्त कर नीतिका कारण खानेपानी तथा सिँचाइ आयोजनाको विद्युत् महसुलमा छुट दिने प्रदेश सरकारको कार्यक्रम प्रभावित हुने भएकाले यसतर्फ प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रदेशसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा जुग्जालीले पूर्वाधार, कृषि, ऊर्जा र खानेपानी क्षेत्रसँग सम्बन्धित विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै जनताले प्रत्यक्ष लाभ पाउने तथा कार्यान्वयन गर्न सकिने कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।

