
बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा सोमबारदेखि ७६ औ आरोहण दिवस मनाउन शुरु भएको छ ।
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बिबिध कार्यक्रमका साथ आरोहण दिवस मनाउन थालिएको हो । अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले दिवसको अवसरमा आयोजित दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिहरु आज नारच्याङ देखि आधार शिविर तर्फ प्रस्थान गरेका छन् ।
“चार जना महिला, नौ जना पुरुष धावक सहित हुमखोला देखि आधार शिविर पदयात्रामा सहभागीहरुलाई बिदाई गरेर दिवसको शुरुवात गरेका छौ,” उहाँले भन्नुभयो “यही जेठ २० गते आधार शिविर देखि नारच्याङ सम्म ३६ किलोमिटर दुरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिनेछ् ।”

दौड प्रतियोगितामा सहभागी हुनेहरु थपिने क्रम जारी रहेको वडा सदस्य पुर्जाले बताउनुभयो । खुल्ला दौड प्रतियोगितामा बिजेतालाई रु. एक लाख, उपबिजेतालाई रु. ६० हजार, तेस्रोलाई रु. ३५ हजार र शान्तवना स्थान हाँसिल गर्ने तीन÷तीन जनालाई रु. १०÷१० हजार नगद पुरस्कारको ब्यवस्था गरिएको अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स संघको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
“दिवस मनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. १० लाख बजेट बिनियोजन गरेको छ,” उहाँले भन्नुभयो “यसअघि काठमाडौ, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा मनाइने अन्नपूर्ण आरोहण दिवस गत वर्षदेखि सम्बन्धित भूगोलमा मनाउन थालिएको थियो ।”
समुन्द्रि सतहदेखि चार हजार एक सय ९० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकहरुको लागि आकर्षक गन्तब्यका रुपमा विकास भएको छ । पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रर्वद्धनात्मक कार्यक्रमपछि छोटो दुरिमा सहजै पदयात्रामा पुगिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा परेको मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताउनुभयो ।
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य हो ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।
नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा नक्साङ्कन र ‘मौरिस हेर्जोग’ नामाकरण गरेको थियो ।

