
बेनी, — पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीस्थित कालिगण्डकी नदीमा खसेर एक बालक बेपत्ता भएका छन्।
बुधबार दिउँसो करिब २ बजे मल्लाज जाने ‘९ सिढी’ उकालो बाटो नजिक कालिगण्डकी नदी किनारमा खेलिरहेका रुपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका स्थायी बासिन्दा तथा हाल म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलमा बस्दै आएका दुर्गेश कुमार मल्लका ६ वर्षीय छोरा प्रियान्सु साहनी नदीमा खसेर बेपत्ता भएका हुन्।

परिवारका सदस्यका अनुसार प्रियान्सु खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेका थिए। घटनाबारे बेलुका करिब ६ः२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहनीले जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कालिपुलबाट प्रहरी सहायक निरीक्षक सुवास थापाको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले बालकको खोजी कार्य जारी राखेको जनाएको छ।
घटनास्थल पर्वत जिल्लाको क्षेत्रमा पर्ने भएकाले घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्वतलाई समेत जानकारी गराइएको प्रहरीले जनाएको छ। बेपत्ता बालकको खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको छ।

