
बेनी, — दक्षिण शृङ्गेरी शारदा पीठका आद्य जगद्गुरु शंकराचार्य परम्पराका उत्तराधिकारी परमपूज्य अनन्तश्री विभूषित श्रीश्री विद्युशेखर भारती महास्वामीजीले म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर धाममा विशेष पूजा–अर्चना तथा भक्तजनलाई आशीर्वचन प्रदान गर्नुभएको छ ।
मुक्तिका अधिष्ठाता देवता भगवान श्री मुक्तिनाथको दर्शन–पूजन सम्पन्न गरी महास्वामीजी जेठ १३ गते बेलुका करिब ९ बजे बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर धाम पुग्नुभएको थियो । उहाँको आगमनका अवसरमा गलेश्वर मन्दिरको मुख्य प्रवेशद्वारमा भव्य स्वागत गरिएको थियो ।
स्वागत कार्यक्रममा वैदिक गुरुहरूले स्वस्तिवाचन पाठ गरेका थिए । कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका प्रमुख संरक्षक तथा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, कोषका पदाधिकारी एवं सदस्यहरू, बेनी नगरपालिकाका जनप्रतिनिधीहरु, गलेश्वर टोल सुधार संस्था, गलेश्वर आमा समूह, युवा क्लबका प्रतिनिधि तथा स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्वामी ऋषि प्रभवनाचार्य तथा गलेश्वर मन्दिरका पुजारीद्वारा आरती गरी महास्वामीजीलाई मन्दिर परिसरमा प्रवेश गराइएको थियो । त्यसपछि गुरु चरणपादुका पूजन तथा गुरु पूजन सम्पन्न गरिएको थियो । गलेश्वर क्षेत्र विकास कोषका प्रमुख संरक्षक प्रमुख जिल्ला अधिकारी आचार्य, कोषका उपाध्यक्ष बमबहादुर पुन र सदस्य सचिव सम्मरबहादुर थापाले जगद्गुरु शंकराचार्यलाई स्वागत तथा अभिनन्दन गर्नुभएको थियो ।

महास्वामीजीको तर्फबाट समेत प्रमुख जिल्ला अधिकारीलगायत कोषका पदाधिकारीहरूलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रमपछि जगद्गुरु शंकराचार्यले उपस्थित भक्तजनलाई आशीर्वचन तथा सत्संग प्रदान गर्नुभएको थियो । कार्यक्रम सफल बनाउन स्वामी ऋषि प्रभवनाचार्यसहित सम्पूर्ण गलेश्वरवासीको विशेष योगदान रहेको जनाइएको छ ।
जेठ १३ गते बेलुकाको कार्यक्रमपछि महास्वामीजीले भगवान चन्द्रमौली तथा माता शारदा भगवतीको विशेष पूजा–अर्चना गर्नुभएको थियो । त्यसैगरी जेठ १४ गते बिहान भगवान गलेश्वर महादेवको वैदिक विधिअनुसार षोडशोपचार, पञ्चोपचार तथा दक्षिणा अर्पणसहित विशेष पूजा सम्पन्न गर्नुभएको थियो । सो अवसरमा रुद्रीपाठ, जलधारा तथा रुद्राभिषेकसमेत गरिएको थियो ।
विशेष पूजामा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, वडा नं. ९ का वडा अध्यक्ष चक्रबहादुर केसी, गलेश्वर क्षेत्र विकास कोषका पदाधिकारी तथा सदस्यहरू, स्थानीय भक्तजन र नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कोषका सदस्य सचिव समरबहादुर थापाले कोषको तर्फबाट जगद्गुरु शंकराचार्यलाई भेटीसमेत अर्पण गर्नुभएको थियो ।
कार्यक्रमको समापनपछि जगद्गुरु शंकराचार्यले उपस्थित भक्तजनहरूलाई फूलप्रसाद वितरण गर्नुका साथै वैदिक गुरुहरूलाई सम्मान एवं आशीर्वाद प्रदान गर्नुभएको कोषका कार्यालय सचिव तेजिन्द्र खत्रीले जानकारी दिनुभयो ।

