जलजलामा हिमाल र बादलको लुकामारी

Gandaki Ghumau

सन्तोष गौतम
बेनी, ः पहाडको उच्च स्थानमा समथर फाँटको घाँसेमैदान । हरियाली पहाड र फाँटको पृष्ठभूमिमा लहरै हिमाल । शान्त वातावरण र छिनछिनमा हुने हिमाल र बादलको लुकामारी । शितल हावापानी । वन्यजन्तु र पक्षीहरुको आवाज । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य ।

म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजलाको समथर फाँटमा बसेर आँखै अगाडि हिमालको लर्कन हेर्न पाउँदा सोही पालिकाको ७ नम्बर वडाकी शान्ति थापालाई चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।

“छिन छिनमा हुने बादल र हिमालको लुकामारीको दृष्य जलजलाको फरक आकर्षण रहेछ,” उहाँले भन्नुभयो “दृष्य अवलोकनसँगै गुर्जाघाट, छेन्तुङ, ढोरपाटनको जनजिवन अवलोकन, उत्तरगंगाको दर्शन, घोडा सवार गर्न पाउँदा यात्राको दुःख भुलियो ।”

Shreekrishna

समुन्द्रि सतहदेखि तीन हजार चार सय १४ मिटर उचाईमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता भएको धवलागिरी गाउँपालिका–३ का नरेश विश्वकर्माले बताउनुभयो ।

“समथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनुु जलजला उपत्यकाको बिशेषता हो,” उहाँले भन्नुभयो “पहाडको टाकुराबाट तलतिर बादल र पृष्ठभूमिमा हिमालको अनौठो दृष्यले पनि मोहित बनाउँछ ।”

जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । बर्खायाममा जलजला उपत्यकामा भेडाबाख्रा, गाईभैसी र घोडाको घुम्ती गोठ लैजाने चलन छ ।
‘रेडपाण्डा’को बासस्थान
जलजला क्षेत्रको जंगलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ । समुन्द्री सतहबाट दुई हजार दुई सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको थियो । सो क्षेत्रमा छ वटा देखि २५ वटा सम्म रेडपाण्डाको बसोबास भएको वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राइले बताउनुभयो ।

स्थानीयबासीले वि.स. २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ को मंसिर र २०८३ वैशाख ३१ ग्ते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाडा क्षेत्रमा हाब्रे भेटिएको तस्विर भिडियो सार्वजनिक गरेका थिए ।

वि.स. २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । रेडपाण्डाका कारण जलजला क्षेत्रमा साहासिक पदयात्रामा रमाउन चाहाने पर्यटकहरुलाई आकर्षित गर्न सकिने धवलागिरी गाउँपालिका–३ का भोम पुनले बताउनुभयो ।
सडक सुविधापछि पर्यटक बढे

माथिल्लो जलजलामा ६ वर्षदेखि ‘गोठ स्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरी गाउँपालिका–२ लुलाङका फुलबहादुर बिकले दैनिकजसो पर्यटकहरु आउन थालेका बताउनुभयो । “यसअघि ढोरपाटनमा आएका सिमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए,” उहाँले भन्नुभयो “म्याग्दी–ढोरपाटन र पुर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार÷पाँच वटा गाडी तथा १५÷२० वटा मोटरसाइकलमा पर्यटकहरु आउन थालेका छन् ।”

Gunasthariya Shiksya

बेनी देखि एक सय २२ किलोमिटर दुरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पुर्वी रुकुमको पुथाउत्तरगंगा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरु जलजला देखि मुना हुदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहासिक र आकर्षक गन्तब्य बनेको छ । तकसेरा– ढोरपाटन –जलजला हुदै पोखराको यात्रा गरेकी बागलुङकी सपना रोकाले नयाँ मार्गमा साहासिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाउनुभयो ।

जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धवलागिरी गाउँपालिका–७ का बिबिधजङ थापाले बताउनुभयो । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको दुई वटा मनसुुन र बार्से ब्लक सहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजला ढोरपाटन शिकार आरक्षको ‘भ्यू पोइन्ट’को रुपमा विकास हुन थालेको छ । आवास र खानेपानी अभाव जलजलाको मुख्य समस्या बनेको छ ।
पूर्वाधार निर्माण र प्रर्वद्धन अभियान शुरु
गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा पर्यटक आगमन बढ्न थालेपछि धवलागिरी गाउँपालिकाले पूर्वाधार निर्माण र प्रर्वद्धनको काम थालेको छ ।

जलजलाको सम्भावनाको उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरि जिल्ला, प्रदेश, संघीय तहमा पहल गर्ने उद्देश्यले यसै हप्ता पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न गरेको धवलागिरी गाउँपालिकाले खानेपानीको ब्यवस्था मिलाएको र शौचालय निर्माण थालेको उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा, धौलागिरि आधार शिविर जोड्ने पदमार्गको अवधारणा अघि सारिएको छ । बस्ती देखि टाढा होटल र रेष्टुरेन्ट नभएको जलजलामा म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैंसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैं बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।
ढोरपाटन शिकार आरक्ष, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर पर्यटकहरुको लागि आश्रयस्थल, पदमार्ग निर्माण, विद्युत र सञ्चार सुविधा विस्तारका लागि पहल गर्न कार्यक्रम मार्फत सात बुदे जलजला घोषणापत्र जारी गरिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो ।

“चिनौं जलजला, घुमौं जलजला” डिजिटल अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । जलजला देउरालीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने अध्यक्ष पुनले बताउनुभयो ।
मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरी गाउँपालिकाको केन्द्र मुना देखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ ।

दुई तर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन)ले म्याग्दीको मुना हुदै ढोरपाटन र पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नु पनि भएको बताउनुभयो ।

एक सय २२ किलोमिटर दुरीको हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने एक सय २२ किलोमिटर दुरीको यो सडक मध्य पहाडी लोकमार्गको बागलुङ– काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ । बागलुङ देखि पुर्वी रुकुमको काँक्रीको दुरी एक सय ७५ किलोमिटर छ ।

“पुरानो पदमार्गलाई आधार मानेर खोलिएको यो सडकलाई स्तरोन्नति गर्न सकेमा पुर्वी, पश्चिम रुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा–काठमाडौ जान आउन छोटो र सजिलो हुनेछ्,” प्रदेश सांसद जुग्जालीले भन्नुभयो “ नयाँ मार्ग खुलेको सडक स्तरोन्नति गरेमा मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र उच्च पहाडी राजमार्ग बन्न सक्ने सम्भावना रहेको छ ।”

स्तरोन्नति गर्न र खोलाहरुमा मोटर चल्ने पुल बनाउन बाँकी यो सडकले ढोरपाटन, जलजला र तकसेरा घुम्न जाने पर्यटकहरुलाई पनि सहज भएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पको रुपमा विकास गराउन प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...