तरकारी खेतीले सोवितलाई दिलाएको पहिचान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः ३० वर्षअघि साथमा रु. एक सय नभएर तरकारीको बिउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जिवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ ।

“ऋण खोजेर रु. एक सय ५० को बीउ किनेर वि.स. २०५२ असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने”, शर्मा सम्झनुहुन्छ, “भदौमा प्रतिकिलो रु. दुई मा पनि नबिकेको काउली बन्दा जमिनमै पुरेर त्यसैमा लगाएको सागले काउली बन्दाको समेत लगानी उठायो ।”

अन्नबालीबाट घर चलाउन सम्भव नभएपछि तीन रोपनी जमिनबाट शुरु गरेको तरकारी खेतीले आफ्नो र परिवारको आर्थिक हैसियतमा ठूलो सुधार ल्याएका शर्माले नाम र दाम कमाउनुभएको छ । व्यावसायिक कृषि पेसाबाट सफलता पाएका औंलामा गन्न सकिने कृषक भएको म्याग्दीमा शर्माको नाम अग्रपंक्तिमा आउँछ ।

Shreekrishna

आफू उद्यमी बन्नुका साथै अरू धेरैका लागि प्रेरणाको स्रोत बनेका शर्माले आफ्नै परिश्रम र मेहनतबाट मासिक रु. एक लाख ५० हजार रुपैयाँ आम्दानी र करिब ५० हजार बचत गर्नुहुन्छ । छोरीलाई हेल्थ असिस्टेन्ट पढाएर विदेश पठाएका र छोरालाई पोखरामा स्नाकोत्तर पढाइरहेका सापकोटाले तरकारी र केराखेतीबाट भएको कमाईले खबरामा पक्की घर बनाउनुका साथै पोखराको लेखनाथमा घडेरी किनेको बताउनुभयो ।

तरकारी बेचेर कमाएको रु. दुई लाखबाट खबराको दारिम्पाटामा खरिद गरेको सात रोपनी पहिरोले पुरिएको पाखोलाई थप रु. १६ लाख खर्चेर पहिरो पन्छाउने र चक्लाबन्दी गर्नुभयो । “बारीको बिच भागमा चार वटा टनेल र खुल्ला जमिनमा तरकारी तथा डिल र कुनामा केरा लगाएको छु,” शर्माले भन्नुभयो “गड्यौलाबाट तयार पारेको ‘भर्मी कम्पोष्ट’ मल, रासायनिक बिषादीको बिकल्पमा गहुँत प्रयोग गरी प्राङगारिक बिधिीबाट खेती गरेको छु ।”

पाखोबारी अहिले हराभरा कृषि फार्म बनेको छ । परागशेचनका लागि १० घार मौरी पालेका शर्माले रोहोटे र खबरामा रहेको पुरख्यौली ३८ रोपनी जमिनमा हजारी जातको केरा, कागती र डालेघाँस खेती गर्नुभएको छ । शर्माले उत्पादन गर्ने केरा, गोलभेडा, धनीया, खुर्सानी, साग, काँक्रो, सिमी, घिरौला, फर्सी लगायत मौसमी र बेमौसमी तरकारी सदरमुकाम बेनी बजार नजिकै भएकाले बिक्रीको समस्या छैन् ।

सोवित तीन वर्षको हुँदा बुवा भवदत्तको छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा जलेर निधन भयो । आमा सेतिले खेती किसानी गरेर दुई दिदी र बहिनीसँगै हुर्काएकी सोवित पारिवारिक बाध्यताले १० कक्षामा पढ्दै गर्दा काम खोज्दै भारत पुग्नुभयो ।
केही वर्ष भारतको दिल्लीमा भौंतारिँदा आफ्नो र घरको आर्थिक अवस्थामा सुधार हुन नसकेपछि गाउँ फर्किएका सोवितले धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रबाट तालिम लिएपछि धानको विकल्पमा तरकारी खेती गर्न माटोसँग मितेरी गास्नुभयो ।

धान रोप्न छाडेर तरकारी खेती गरेको सुनेर सोवितलाई घरमै भेट्न पुगेका तत्कालीन कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत हेम शर्मा तिवारीको प्राविधिक सल्लाह र सहयोगले उत्साह बढ्यो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

श्रीमति देवी बिरामी भएर उपचार गराउँदा लागेको ऋण तिर्न र देशमा चर्किदै गएको द्धन्द्धका कारण सप्रिदै गरेको तरकारी खेती श्रीमती र आमालाई जिम्मा लगाएर वि.स. २०६१ मा मलेसिया पुगेका शर्माले त्यहाँको इलेक्ट्रोनिक कम्पनीका मालिकबाट प्रभावित भएर चार वर्षपछि घर फर्किएर पुनः तरकारी खेतीमै जोडिनुभयो ।

“मलेसियाको कमाइले ऋण तिरे । र, केही पैसा बचत पनि गरे,” शर्माले भन्नुभयो “देशमा शान्ति प्रक्रिया सुरु भएकाले आमा र श्रीमतिले निरन्तरता दिएको तरकारी खेतीलाइृ थप ब्यवसायिक बनाउने र उद्यम ब्यवसाय गर्ने वातावरण भयो ।”

आफ्नो सफलताको पछाडि आमा, श्रीमती र छोराछोरीको राम्रो साथ रहेको सापकोटा बताउनुहुन्छ । दिन, साँझ र बिहान माटोसँगै खेलेर बिताउने उहाँको फार्ममा परिवारका सदस्यबाहेक अन्य तीन जनाले रोजगारी पाएका छन् ।

“पहिला गुजारा चलाउन गाह्रो थियो, दुई चार हजार आवश्यक पर्दा ऋण खोज्नुपर्ने अवस्था थियो”, सोवितकी श्रीमति देविले भन्नुभयो, “हामीलाई अहिले यो अवस्थामा ल्याएको तरकारी खेतीले हो ।” वि.स. २०७२ मा तत्कालीन कृषि विकास कार्यालयबाट पहिलो पटक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गर्नुभएका सोवितले कृषि मेलामा सहभागी भएर थुप्रै पुरस्कार पनि हात पार्नुभएको छ ।

बेनी नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, विभिन्न संघसंस्थाबाट उहाँले तालिम र अनुदान सुविधा पनि पाउनुभएको छ । आफ्नो व्यवसायसँगै कृषकसँग सम्बन्धित विभिन्न संघसंस्था र समूहमा आवद्ध सापकोटा कृषकलाई जैविक खेती प्रविधि सिकाउन एकिकृत कृषक पाठशालाको सहजिकरण गर्न जिल्लाभरका किसानको करेसाबारीमा पुग्नुहुन्छ ।

खबरामा व्यावसायिक तरकारी खेती सुरु गर्नेमा शर्मा र चन्द्रबहादुर घिमिरे हुनुहुन्छ । उहाँहरूको मेहनत र सफलताबाट प्रभावित भएर खबराका धेरै कृषक व्यावसायिक तरकारी र केरा खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

डेढ सय घरधुरीको बसोबास रहेको खबराका करिब २५ जनाले व्यावसायिक तरकारी खेती गरेका छन् । पूरै गाउँको आयस्रोत केराखेती बनेको छ । उनीहरूले उत्पादन गरेको तरकारी र केरा बेनी बजारमा खपत हुन्छ ।

कृषकले उत्पादन लागत पहिचान गर्न नसक्नु, कामदार र सिँचाइ अभाव व्यावसायिक कृषिका लागि मुख्य चुनौती भएको सापकोटाको अनुभव छ । पछिल्लो समय केराको गाना कालो र टुप्पोका पात पहेलो हुदै सुक्ने समस्या चुनौतिका रुपमा देखिएको छ । पाङ्गारिक बिधिबाट तरकारी खेतीलाई निरन्तरता दिदै नमुना कृषि फार्म बनाउने सापकोटाको योजना रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...