
लामाखेत, । पर्वतको जलजला गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता दिने प्रतिवद्धता सहित बिहिबार एक समारोहका बीच पूर्ण खोप सुनिश्चतता तथा दिगोपना स्थानीय तह घोषणा भएको हो ।
जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले नौ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि ११ महिना सम्मका एक सय ६४ जना, १२ देखि १५ महिनाका ४३ जना, १६ देखि २३ महिनाका एक सय २३ जना र २४ देखि ५९ महिना सम्मका पाँच सय ७८ जना बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै पूर्ण खोप पाएका जानकारी दिनुभयो ।


१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।
नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।
स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका÷नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्र्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षता र जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जलजलामा क्रियाशिल राजनीतिक दल, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, जनप्रतिनिधी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वमसेविकाहरुको उपस्थिति रहेको थियो ।

