
बेनी ः बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरिर कुप्रिन थालेपनि धवलागिरी गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैसीगोठ छोड्न मन लागेको छैन् ।
समुन्द्रि सतहदेखि तीन हजार मिटर उचाईमा रहेको दोभानको चरन खर्कमा चरिरहेका भैसीहरुको गतिबिधी नियालेर बसेको अवस्थामा भेटिनुभयो । रुखबाट लडेर शरिरमा परेको चोटका कारण ठाडो उभिन गाहे हुन थालेपनि छ दशकदेखिको भैसिगोठको सम्बन्धबाट किर्तबहादुरलाई टाढिन नचाहेको सुनाउनुभयो ।
“तन घरमा भएपनि मन भने भैसीसँगै वनपाखा गरिरहेको हुन्छ,” किर्तबहादुरले भन्नुभयो “माइला छोरालाई गोठ जिम्मा लगाएपनि गोठ बस्न छाडेको छैन् ।” बुवाआमासँगै गोठमै हुर्कीएका किर्तबहादुर आठ वर्षको हुँदादेखि जंगल पस्नुभएको थियो ।

“अहिले विदेशमा गएको जस्तै थियो त्यसबेला गोठमा जानु भनेको,” उहाँले भन्नुभयो “झरिबादल नभनी लेक र बेशीका भिरपहरा, जंगलमा गोठ सार्ने हामीहरु हिउँदमा गाउँ नजिकको खेतबारीमा आउँदा मात्रै घरपरिवारसँग भेट हुन्थ्यो । बर्खामा तीन चार महिना कसैसँग सम्पर्क हुदैनथ्यो ।”

पोशिलो घाँस पाइने भएकाले भैसीहरु पाँच हजार मिटर उचाइका बुकीमा चरनका लागि आफै पुग्ने गरेको अनुभव किर्तबहादुरले सुनाउनुभयो । स्थानीय लिमे पारकोटे जातका दुई वटाबाट शुरु भएको किर्तबहादुरको गोठमा भैसीको संख्या २५ भन्दा कम कहिल्यै भएनन् । दुहुना भैसी, पाडापाडी, राँगो र घिउ बेचेर छ जना छोराछोरी हुर्काएको, उनिहरुलाई पढाएको र घरब्यवहार चलाएको किर्तबहादुरले बताउनुभयो ।
वार्षिक १० देखि १५ वटासम्म राँगाभैसी र दुई सय लिटरको हाराहारीमा घ्यू बिक्री हुने गरेको थियो । बर्खामा धौलागिरि हिमालको फेदीमा रहेको कुनाबनमा पुग्ने भैसीगोठ हिउँदमा बगर गाउँ वरपरका पाखामा झर्छन् । मथेनी, मैरै र कुनावन भैसीखर्क हुन् । परिवारका सदस्यले समय समयमा गोठमा चाहिने अन्न, नुन र तेल ल्याइदिने गर्दथे ।
टुसा, च्याउ र ढकायोको साग गोठमा धेरै पाक्ने तरकारीका परिकार हुन् । भोटे कुकुरले गोठ रुघेर सुरक्षा दिन्थ्ये । महिनौ सम्म जंगलमा एक्लै हुँदा रेडियो सुनेर मनोरञ्जन र सूचना तथा जानकारी लिने गरेको उहाँले सुनाउनुभयो । चरनका लागि जंगल जान नसक्ने पाडापाडीलाई घाँस जुटाउन, दूध दुहुन, चरनका लागि गएका भैसी खोज्न एक्लै भौतारिदा दिन बितेको पत्तै हुदैनथ्यो ।
भरिबादल र हिमपातको समय गोठालाहरुको लागि चुनौतिपूर्ण हुन्छ । लेकमा आकाश खुल्दा र घाँस प्रशस्त हुँदा नजिक नजिकका गोठालाहरु भेटघाट गरेर रमाउँछन् । “मेरो बाल्यकालमा गाईभैसीको गोठ नहुने घरै हुदैनथे,” किर्तबहादुरले भन्नुभयो “अहिले भएका दुई÷चार वटा गोठहरु पनि हामी वृद्धहरुले छाडेपछि हराउने अवस्था छ ।”
भैसीपालनमा छ दशक बिताएका किर्तबहादुरले पछिल्लो समय बाझिएका गाउँबस्ति नजिकका खेतीयोग्य जमिनमा घाँस खेती गरेर ब्यवस्थित रुपमा पशुपालन गरेमा काम खोज्दै विदेशमा भौतारिनु नपर्ने सुझाउनुभयो ।

