नारच्याङ झरना जोड्ने ‘रेलिङ’ सहितको पदमार्ग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’ सहितको पदमार्ग निर्माण भएको छ ।

नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकहरुलाई आवत जावत गर्न सहज भएको छ ।

गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको रु. २७ लाख बजेटमा उपभोक्ता समिति मार्फत भिरालो पाखाको उकालोमा पाँच सय मिटर भन्दा बढी रेलिङ सहितको पदमार्ग निर्माण भएको नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

Shreekrishna

“आर्थिक वर्ष २०७९÷०८० देखि शुरु भएको पदमार्ग निर्माण कार्यले यसपाली पूर्णता पाएको हो,” उहाँले भन्नुभयो “सुरुको वर्ष रु. १० लाख बजेट बिनियोजन गरेको प्रदेश सरकारले यस वर्ष रु. पाँच लाख छुट्टाएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा रु. सात लाख र २०८१÷०८२ मा रु. पाँच लाख बिनियोजन गरेको थियो ।”

उपभोक्ताले बिनियोजित बजेटको दश प्रतिशत बराबरको श्रमदान गरेर पदमार्ग बनाएका वडा अध्यक्ष फगामीले बताउनुभयो । एक दशमलब पाँच मिटर फराकिलो पदमार्गको डिलतर्फ रेलिङ राखिएको छ भने अधिकांश ठाउँमा ढलान गरेर पक्की बनाइएको छ । केही ठाउँमा ढुंगा बिछ्याइएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने र दुर्घटनाको जोखिम थियो । पहाडको बिचभागमा रहेको थुम्कोमा झरना अवलोकन स्थल बनाउन अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. २० लाख बजेट कार्यान्वयनमा समस्या भएको छ ।

इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण योजना कार्यान्वयन गर्न नसकिएको वडा अध्यक्ष फगामीले बताउनुभयो । झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको छ । छ÷सात वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो । हाल दैनिक पर्यटकहरु आउने गरेका छन् ।

अन्य समयको तुलनामा विदाको दिन पर्यटक बढी आउने गर्छन् । परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न संघ संस्थाबाट सामुहिक भ्रमणमा आउने गरेका हुन् । नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको पर्यटकहरु बताउँछन् ।

यो झरनाको उचाइ तीनसय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृष्य देख्न सकिन्छ । पर्यटकहरुले झरनासँगै तस्विर, भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने भएकाले प्रचारप्रसारमा सहयोग पुगेको छ ।

समुदायले नारच्याङ गाउँदेखि झरना सम्म पुग्ने कच्चि पदमार्ग, दृष्य अवलोकन स्थल र घेराबार निर्माण गरेका छन् । झरनाको नजिकै रहेको भूमे देवताको थान नारच्याङबासीको धार्मिक स्थल हो । सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ ।

बेनी–जोमसोम सडकको नागढुङ्गा देखि पाँच मिनेट सवारी साधन र तीस मिनेट पैदल हिडेर झरनामा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सात वटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...