
छोटिएको पदमार्ग र थलिएको ब्यवसायलाई चलायमान बनाउन विकल्पको खोजी
मुदी, ः म्याग्दीमा रहेको संसारको सातौ अग्लो धौलागिरि हिमालको ६६ आरोहण दिवस बुधबार बिबिध कार्यक्रमका साथ मनाईएको छ ।
आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल अवस्थित धवलागिरी गाउँपालिका–४ मुुदीमा पदमार्ग र घरबास प्रर्वद्धन तथा पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो । कार्यक्रममा सडकका कारण छोटिएको पदमार्ग, जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको असर र विकल्पको खोजीमा सरोकारवालाहरुबीच बहस र छलफल भयो ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए। उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिकोे चुचुरोमा पुगेका थिए ।
गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा दिवस मनाइएको हो ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले हिमाल अवस्थित वडाको भूूगोलमा पहिलो पटक आरोहण दिवस मनाइएको बताउनुभयो । “पहुुँच र पहलको कमीले यसअघिका धौलागिरि आरोहण दिवस पोखरा र काठमाडौमा मनाउने गरिएको थियो,” उहाँले भन्नुभयो धौलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन यो कार्यक्रम सफल भएको छ ।”
आरोहण दिवसको अवसरमा पर्वतारोही कृष्ण केसीलाई टान गण्डकीले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेको छ । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अभिलेख अनुुसार ६६ वर्षको अवधीमा सात सय ३३ जनाले धौलागिरि हिमाल आरोहण गरेका छन् ।
कार्यक्रममा धवलागिरी गाउँपालिका– ४ का वडा अध्यक्ष यामप्रसाद घर्ती र स्थानीय पर्यटन ब्यवसायी गणेश घर्तीले सडकका कारण धौलागिरि चक्रीय पदमार्ग मासिएको तथा पर्वतारोहीहरु हेलिकप्टरबाट सिधै आधार शिविर पुुग्न थालेपछि पदमार्ग सुनसान बनेको गुुनासो गर्नुभयो । उहाँहरुले धौलागिरि संरक्षण क्षेत्र बनाउन माग गर्नुभयो ।
समारोहमा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले धवलागिरि लगायत गण्डकी प्रदेशका हिमालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने गरी पर्यटकको आगमन हुने बताउनुभयो । सँगसँगै पर्यावरण जोगाउन पनि स्थानीयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘जलवायु परिवर्तनको असर हाम्रो हिमालमा परेको छ,’ उहाँले भन्नुभयो ’हिमालको अस्तित्व जोगिए मात्रै मानव सभ्यताको अस्तित्व जोगिन्छ ।’
कार्यक्रममा वक्ताले पदयात्रा मार्गमा मोटरबाटो पुग्दा विदेशी पर्यटक घटेको, धवलागिरि सर्किटमा पूर्वाधार अभाव भएको प्रति चिन्ता व्यक्त गरेका थिए । प्रदेश सांसद रेशम जुग्जालीले जनताले आफ्नो गाउँमा मोटरबाटो पुगेको एउटै सपना देख्ने भएकाले वैकल्पिक पदयात्रा मार्गको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले धवलागिरि गाउँपालिकामा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । ‘अन्नपूर्ण क्षेत्रबाट धवलागिरिका बासिन्दाहरुले पर्यटन विकास र कसरी फाइदा लिने भनेर सिक्नुपर्छ,’ उहाँले भन्नुभयोे ‘धौलागिरि संरक्षण क्षेत्रको बहस चलेपनि प्राकृतिक स्रोतसाधनको उपयोगमा वञ्चित गराइने हो कि भनेर स्थानीय सशंकित छन् ।’
म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले धवलागिरि सर्किटमा पूर्वाधार विकासका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो । धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धवलागिरि सर्किटसँगै गुर्जाबाट डोल्पा निस्कने रूट, ढोरपाटन शिकार आरक्ष जोड्ने रूटको पनि विकास प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले धवलागिरिको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले हिमाल आरोहणमा स्थानीयले पहल लिनुपर्ने सुझाउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख रविन कडरियाले एक्यापकै मोडेलमा धवलागिरि संरक्षण क्षेत्र विकास गर्न सके यहाँको सम्भावना प्रचुर रहेको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नयाँ पदमार्ग विकास गरेर धवलागिरिमा पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धवलागिरिलाई एक्यापको मोडेलमा लैजान उपयुक्त हुने बिचार व्यक्त गर्नुभयो । ‘केही परिमार्जन आवश्यक होला,’ उहाँले भन्नुभयो, ’डीक्याप घोषणा गर्न र डीपीआर बनाएर पर्यटनका गतिविधि अघि बढाउनुपर्छ ।’

