
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैसीको घुम्तीगोठ लिएर लेकबेशी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो ।
नुन लिन बेनी आएको समयमा साथीहरुसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनौटमा भाग लिएका ७४ वर्षीय पूर्णबहादुर सहभागी दुई सय युवाहरु मध्य सबैभन्दा छिटो दौडिएर छनौट पनि हुनुभएको थियो ।
“हामी किशोर हुँदा भारतीय गोर्खा सैनिकमा भर्ती गराउन गाउँ गाउँमा युवा खोज्दै आउँथे, म पनि गलेश्वरमा देखिदाँ छनौट भएर पनि पल्टनमा नगएपछि सैनिक बोर्डका मान्छे तीन महिनापछि खोज्दै घरमा आएका थिए,” उहाँले भन्नुभयो “हजुरबुवा र बुवाले सेनाको जागिर भन्दा भैसी पाल्दा राम्रो हुने भनेर गोठको जिम्मा लगाएपछि नकार्न नसकेर जंगल पसे ।”

पण्डीत र ज्योतीष पेशा गर्नुहुने हजुरबुजा बसन्तले पूर्णबहादुरलाई भैसीको जिम्मा लगाउँदा ब्यवसाय फस्टाउने सुझाएपछि परिवारले सोही निर्णय गरेको उहाँले सम्झनुभयो । भारतीय गोर्खा सैनिकमा भर्ती हुन नपाएकोमा पूर्णबहादुरलाई पछुतो भने छैन् ।
“हजुरबुवाले अनुमान गरेको जस्तै एक वटा पाडोबाट शुरु गरेको घुम्तीगोठमा भैसीको संख्या ३६ वटा सम्म पुग्यो,” पूर्णबहादुरले भन्नुभयो “भैसी, राँगा, पाडापाडी र घ्यू बेचेरै घरब्यवहार चलाए, खेतबारी जोडे, चार छोराछोरीलाई पढाए, ठाउँमा पु¥याए ।”

वि.स. २०२५ देखि घुम्ती गोठमा भैसीपालन शुरु गरेका पूर्णप्रसादले गत पुष महिनादेखि स्वास्थ्य र वुढ्यौलीका कारण भैसी बेचेर मालिका गाउँपालिका–७ बिम खारामा रहेको जेठी छोरी माया शर्माको घरमा बस्न थाल्नुभएको हो ।
शुरुवातमा १३ वटा भैसीलाई रु. एक हजार पाँच सयमा बेचेका पूर्णप्रसादसँग घुम्ती गोठ लिएर भैसीसँगै बर्खामा हिमाल फेदीका बुकी र हिउँदमा बेसी गर्दाका रमाइला र दुःखका अनुभूतिहरु छन् । पछिल्लो पटक एउटा भैसीलाई रु. ८५ हजार सम्ममा बिक्री गरेको उहाँले बताउनुभयो ।
जंगलमा जान नसक्ने र वन्यजन्तुले आक्रमण गर्ने साना पाडापाडीको स्याहार सुसार गर्ने देखि दूध दुहुने, मोही पारेर घ्यू बनाउने काममा बिहान देखि साँझ सम्म व्यस्त हुनुपर्दा तीन वर्षमा घरपरिवारसँग भेट भएको पूर्णबहादुरले सम्झनुभयो । हिउँ परेको अवस्थामा भैसी र पाडापाडीको स्याहारसुधार तथा आहारा ब्यवस्थापनका लागि दुःख भएको उहाँले सुनाउनुभयो ।
वार्षिक दुई सय लिटर सम्म घ्यू बेचेका उहाँ असोज कात्तिकमा पोषिलो घाँस प्रशस्त पाइने र बुकीमा मौसम सफा हुँदा मनमोहक दृष्य देख्दा फुरुंग हुनुहुन्थ्यो । जिरवाङ, सिमकोश, धुरीखर्क, हिले, बगर हुदै धौलागिरि हिमालको फेदीमा रहेको बुकीसम्म गोठ लगेर पुगेका पूर्णबहादुरको गोठमा एकै पटक ब्वाँसोले आक्रमण गरेर ११ वटा भैसी मारिदिदा दुःखि भएको सम्झनुभयो ।
गोठको सुरक्षाका लागि कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गर्नुभएको थियो । गाउँ अनुसार चरन क्षेत्र बाँड्ने भएकाले लेकमा अन्य गोठालाहरुसँग कमै भेटघाट हुन्थ्यो । घुम्तीगोठका लागि आवश्यक खाद्यान्न समय समयमा परिवारका सदस्यहरुले जंगलमै पु¥याइदिन्थे । रेडियो र मोवाइल साथी हुन् । पूर्णबहादुरले पछिल्लो समय बुकी र चरन क्षेत्रमा अनावश्यक काँडाधारी वन तथा झारपात फैलिन थालेको अनुभव सुनाउनुभयो ।
पछिल्लो समय बसाईसराईका कारण खेतबारी बाझिएकाले गाउँ वरपर पनि ब्यवस्थित रुपमा भैसीपालन गर्न सकिने सम्भावना रहेको पूर्णबहादुरको सुझाव छ । विदेशमा गर्ने दुःख आफ्नै गाउँठाउँमा गर्न सकेमा स्वरोजगारका साथै आत्मनिर्भर भइने उहाँले बताउनुभयो ।

