
बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जंगलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जंगलमा लुकाएर राखेको अवस्थामा छ थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी नीरीक्षक सागर तिमिल्सीनाले बन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियान अन्र्तगत बन्दुक बरामद गरेर इलाका प्रहरी कार्यालय दरवाङमा ल्याइएको जानकारी दिनुभयो ।

२०८२ मंसिर १५ गतेदेखि शुरु भएको ‘ब्राबोसेरा’ अभियान मार्फत हालसम्म एक सय ४२ थान इजाजत नभएका बन्दुक बरामद भएको उहाँले जानकारी दिनुभयो । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनहरुमा वन्यजन्तुको चोरी शिकारीका साथै आपसी बिवाद र झैझगडामा समेत प्रयोग हुने जोखिम भएकाले अबैध बन्दुक बरामद गर्ने अभियान चलाएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।

अबैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । स्थानीयबासीहरुको सूचना तथा सहयोग समेतमा जंगल, रुखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।
प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने ब्यवस्था छ । प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु. पचास हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था छ । अबैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ ।

