
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालय, लायन्स क्लवको पोखरा आँगन र लेकसिटीको संयुक्त आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो ।
शिविरमा १० जना मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया सहित चार सय ३० जनाले सेवा लिएका अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले जानकारी दिनुभयो । नारच्याङ, घार, दोवा, शिख, दाना, भुरुङ्ग–तातोपानीका बासिन्दाहरुले सेवा लिएका छन् । स्थानीयबासीका साथै एक जना इजरायलका विदेशी नागरिक र जलविद्युत आयोजनाहरुमा कार्यरत कर्मचारी, प्राविधिक तथा मजदुरहरुले पनि सेवा पाएका छन् ।


हिमालयन आँखा अस्पताल पोखराका नेत्र चिकित्सक डा. ज्योत्स्ना शर्माको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो । आँखा परिक्षण, शल्यक्रिया, परामर्श, औषधी र चश्मा वितरण सम्बन्धी सेवा निशूल्क उपलब्ध गराएको नारच्याङका वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । बाहिरबाट आएकाहरुलाई नारच्याङको वडा कार्यालयले खाना बस्नको ब्यवस्था मिलाएको थियो ।
मोतियाबिन्दुको शल्यक्रिया पश्चात गुमेको ज्योती फर्किएकोमा सेवाग्राहीहरुले खुसी ब्यक्त गरेका छन् । गाउँमै मोतियाबिन्दुको शल्यक्रिया सम्बन्धी सुविधा पाउँदा पोखरा जान आउनका लागि हुने समय र खर्चको बचत भएको उहाँहरुको भनाई छ । कार्यक्रम श्यामकृष्ण श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा वडा कार्यालय, लायन्स क्लवको पोखरा आँगन र लेकसिटीको संयुक्त आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिवरमा १० जना मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया सहित चार सय ३० जनाले सेवा लिएका छन् ।

