
कागबेनी, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको ‘झिम्बु’ गुफाको संरक्षण र प्रर्वद्धनमा कागबेनीका बासिन्दाहरुले सक्रियता देखाएका छन् ।
परापुर्वकालमा वौद्ध धर्मका लामाहरुले ध्यान तपस्या गर्न प्रयोग गरेको झिम्बु गुफाको संरक्षण गरि धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गराउन स्थानीय सरोकारवालाले चासो देखाएका हुन् ।
यस गुफामा पर्यटक भित्र्याउनुका साथै तपस्या स्थल (मेडिटेशन सेन्टर)को रुपमा विकास गराउने लक्ष्य सहित संरक्षण र ब्यवस्थीत गर्न थालिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडा अध्यक्ष कर्म घ्याचो गुरुङले बताउनुभयो ।

कागबेनी देखि कोरला नाकातर्फ जाने सडक देखि दुई सय मिटर माथी पहाडको बिच भागमा रहेको झिम्बु गुफामा दुई वटा कोठा छन् । कोठामा लामाहरुले ध्यान बस्दा बनाएका चुल्हो, खोपी लगायतका भौतिक संरचनाहरु अलोकन गर्न सकिन्छ ।
गुफाभित्रबाटै कागबेनी बजार, पृष्ठभूमिको निलगिरि र धौलागिरि हिमाल, कालीगण्डकी नदी देखि मुक्तानाथ क्षेत्रको दृष्य देखिन्छ । बस्ति देखि टाढा रहेको यो ठाउँ शान्त र एकान्त छ । स्थानीयबासी र सरकारी निकायको पहलमा जोमसोम–कोरला सडक देखि गुफासम्म पुग्ने अस्थायी पदमार्ग तयार भएको छ ।


गुफामा वुद्ध जयन्तिको अवसरमा नेपाल प्रहरीका सेवा निवृत्त एस.पी. राजेन्द्र गुरुङको अगुवाईमा स्थापना भएको पाँच फिट अग्लो वुद्ध भगवानको मुर्तिको शुक्रबार प्राण प्रतिष्ठा गरिएको छ । सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले मुर्तिमा पुजाआजा र प्रवेशद्धारमा रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
स्थानीय भाषामा झिम्बु ठाउँको नाम हो भने गुफालाई फु भन्ने चलन छ । स्थानीयबासीहरु यसलाई भिम्बु फु नामले चिन्ने गर्छन् । पुर्व एसपी गुरुङको अगुवाईमा गत माघ महिनामा कागबेनीमा करिब रु. ७५ लाख चन्दा सहयोगबाट गुम्बा पनि निर्माण भएको थियो ।
सडक देखि गुफासम्म पुग्ने पदमार्गलाई ब्यवस्थित गर्ने र धार्मिक तथा ऐतिहाँसिक महत्वका विषयमा अध्ययन गरि तथ्यहरुको प्रचारप्रसार गर्न सकेमा झिम्बु फु धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास हुने सम्भावना रहेको छ ।
यसैगरी कागबेनीका बासिन्दाहरुले शुक्रबार वुद्ध जयन्तिको अवसरमा कागछेदे थुप्तेन सम्फेलिङ गुम्बामा रहेका वौद्ध धर्मग्रन्थका पुस्तकहरुलाई बोकेर बाजागाजा सहित गाउँ परिक्रमा गराएर दर्शन गराएका छन् ।

