
बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक जना शेर्पाको दुई दिनपछि सकुशल उद्दार भएको छ ।
आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लीएर करिब चार सय मिटर तल खस्दा संखुवासभाको मकालु गाउँपालिका –२ का २१ वर्षीय मिङ्मा तेन्जि शेर्पा गम्भिर घाइते हुनुभएको थियो ।

तेन्जिलाई उद्दार गरेर आइतबार बिहान उपचारका लागि काठमाडौ पठाइएको उद्दारमा संलग्न १४ समिट एक्सपीडिसनका शेर्पा फुरु तेन्जि शेर्पाले जानकारी दिनुभयो ।

“बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट शेर्पा परिचालन गरि शनिबार राती तेन्जिलाई मेरै नेतृत्वमा आधार शिवरमा ल्याएका थियौ,” उहाँले भन्नुभयो “अचेत अवस्थामा उद्दार गरिएको तेन्जिको स्वास्थ्य अवस्था सुधार हुदै गएको छ ।” उक्त टोलीले स्पेनका आरोहीहरुलाई धौलागिरि आरोहण गराउन लगेको थियो ।
पर्यटन विभागका अनुसार चालु वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन सूहका १२ महिला सहित २८ जनाले अनुमति लिएका थिए । अनुमति लिएका मध्य अधिकांशले आरोहण गरेका छन् । विभागका अनुसार धौलागिरि आरोहणबाट रु. एक करोड २५ लाख ६० हजार आठ सय ५० रोयल्टी संकलन भएको छ ।

