
कुहुँ ः म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा सञ्चालित चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी– कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।
आगामी जेठ १५ गते सम्मको ठेक्काको म्याद रहेको योजनाको निर्माण कम्पनी मंगला कन्ट्रक्सनले इन्धन र निर्माणजन्य सामग्रीको मूल्य वृद्धिको बावजुद पनि लक्ष्य भन्दा डेढ महिनाअघिनै काम सम्पन्न गरेको हो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा रु. ५० लाख बजेट बिनियोजन गरेको उक्त योजना निर्माणका लागि पूर्वाधार विकास कार्यालय, म्याग्दी र कम्पनीबीच २०८२ माघ ६ गते रु. ४६ लाख २९ हजार एक सय २४ मा ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता लगत्तै मजदुर, उपकरण परिचालन र निर्माण सामग्री ब्यवस्थापन गरेर गत चैत महिनामै निर्माण सम्पन्न गरेको मंगला कन्ट्रक्सनका सञ्चालक चक्रलाल पाण्डे (राजु)ले बताउनुभयो । कार्यालयका अनुसार उक्त योजनाको ९६ दशमलब २२ प्रतिशत भौतिक प्रगति भएको छ ।

कार्यालयका अनुसार उक्त योजना मार्फत कुहँ गाउँभित्र ५१ मिटर दुरीमा सडक फराकिलो पारेर मेसिनरी पर्खाल र नाली निर्माण भएको छ । उपल्लो तुसारेपानी देखि कुहुँतर्फ जाने सडकको दुई सय ५० मिटर दुरीमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार भएको छ ।
उपल्लो तुसारेपानी र कुहुँको बीचमा रहेको डाडाँको घुम्तीमा एक सय २८ घनमिटर ग्यावियन पर्खाल लगाएर सडक फराकिलो पारिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर रविन चोखालले बताउनुभयो ।
कुहुँका बासिन्दा रविन पुनले सडक सुधार भएपछि सवारी साधन आवत जावत सहज र सुरक्षित भएको बताउनुभयो । मार्ग खुलेपछि सामान्य मर्मतको भरमा जिप, मोटरसाइकल र ट्याक्टर सञ्चालन हुदै आएको साँघुरो सडकमा गाडी फर्काउने ठाउँ नभएर तीन सय मिटर टाढा लैजानुपर्ने समस्याको अन्त्य भएको पुनले बताउनुभयो ।
सडकको शुक्रबार अनुगमन गर्न जानुभएका म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य र पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनयर डिभिजनल ईञ्जिनियर डा. महेन्द्र बानियाले मूल्यवृद्धिको असहज अवस्थामा पनि लक्ष्य अघिनै योजना निर्माण सम्पन्न गरेर ब्यवसायीले सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिनुभयो ।
कार्यालय प्रमुख बानियाका अनुसार यस वर्ष सञ्चालन भएका अन्य दुई वटा योजना पनि लक्ष्य अघिनै सम्पन्न भएका छन् । एसएस बिल्डर्सले रु. ४६ लाख ७९ हजार नौ सय ८१ मा ठेक्का सम्झौता गरेको घारखोला–नेपाने सडक र रुप्से बिल्डर्सले रु. ३५ लाख १७ हजार तीन सय ३७ मा ठेक्का लिएको ज्ञानप्रकाश मावि देखि कोट–खलंगा हुँदै ठारा जाने सडक पनि निर्माण सम्पन्न भएको कार्यालय प्रमुख बानियाले बताउनुभयो ।

