
बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य महाविर पुनको बेनीमा सम्पर्क कार्यालय स्थापना भएको छ ।
गत प्रतिनिधीसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेद्वार बनेर बिजयी हुुनुभएका पुनले ग्रामिण क्षेत्रबाट सदरमुकाम स्थित सरकारी कार्यालयमा सेवा लिन आउने सर्वसाधारणहरुको सहयोग र सहजिकरण गर्ने उद्देश्यले बेनीको बिरेन्द्रचोकमा कार्यालय स्थापना गनुभएको हो ।

सांसद पुनका सहयोगी योगकुुमार फगामीले कोठा भाडामा लिएर स्थापना भएको सम्पर्क कार्यालय बैशाख ६ गते आइतबारदेखि नियमित सञ्चालन हुने जानकारी दिनुभयो । चुनाव प्रचारका क्रममा प्राप्त भएको मध्य बचत भएको रु. २८ लाख भन्दा बढी रकमबाट तलब पाउने गरि कर्मचारी राखेर सम्पर्क कार्यालय सञ्चालन गर्ने पुनले घोषणा गर्नुभएको थियो ।

सम्पर्क कार्यालयमा जिल्लाबासीको गुुनासोको सुनुवाई, सुझाव संकलन, सरकारी कार्यालयहरुमा सेवा लिन आउने ग्रामिण क्षेत्रका सर्वसाधारणहरुलाई समन्वय तथा सहजिकरण गरिनेछ् । सम्पर्क कार्यालयको जिम्मेवारी चित्र तिलिजा पुन र अनुप बानियाले पाउनुभएको छ ।

