
म्याग्दी, ः जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका छन् ।
वस्ति देखि टाढा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माणका क्रममा दोवाका बासिन्दाहरुले सरकार निकायबाट प्राप्त अनुदान र श्रमदानको अलावा मेलाबाट भएको आम्दानीलाई पनि परिचालन गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिका र मणीबराह युवा क्लवको साझेदारीमा दोवा देखि पातलखर्क, गरेकखर्क, देउरालीडाडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष विकास पुनले चार किलोमिटर चार सय छ मिटर पदमार्ग निर्माण भएको जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. १० लाख बजेट बिनियोजन गरेको यस योजनाका लागि मणिबाराही युवा क्लवले रु. चार लाख २५ हजार सात सय ६५ सहयोग गरेको र रु. एक लाख २४ हजार बराबरको श्रमदान भएको उहाँले बताउनुभयो ।
“दोवामा पर्यटक भित्र्याउने र बसाई लम्बाई ग्रामिण क्षेत्रमा आर्थिक गतिबिधी बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौ,” अध्यक्ष पुनले भन्नुभयो “सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने उद्देश्यले थालिएको पदमार्ग निर्माण कार्यलाई निरन्तता दिन आवश्यक छ ।”

पुनका अनुसार दोवाका २३ जना स्थानीयबासी करिब ४५ दिन जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् । वस्ति देखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माण स्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् । वडा दशैको अवसरमा मणिबाराही युवा क्लवले आयोजना गरेको मेलाबाट भएको आम्दानी पदमार्ग निर्माणमा सहयोग गरेको हो ।
पदमार्ग अनुगमनमा जानुभएकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले भौगोलिक रुपमा विकट र दुर्गम ठाउँमा सरकारले बिनियोजन गरेको बजेटमा स्थानीय युवा क्लवबाट रकम थपेर उपभोक्ता समितिले काम गरेकामा प्रशंसा गर्नुभयो ।
परापुर्व कालमा दोवा बासीहरुले घुम्ती पशुगोठ लेक बेशी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रुपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडा अध्यक्ष दिलिप गर्बुजाले बताउनुभयो ।
बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखु देखि शुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्गमा नजिकका बस्तिहरुबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भैरहेको छ ।
मगर समुदायको बाहूल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो । उच्च पहाडी क्षेत्रमा गुराँसे जंगल, पहाडी भूगोल, हिमशृङखलाको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । दोवा देखि आइसफल हुदै मुस्ताङ पदमार्गले जोड्ने जनप्रतिनिधीहरुको लक्ष्य रहेको छ ।

