राहुघाट जलबिद्युत आयोजनाको सुरुङका संरचना तयार

Gandaki Ghumau

बेनी ः नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङभित्रका संरचना तयार छ ।
रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा रहेको बाँधदेखि सोही पालिकाको वडा नम्बर ३ तिल्केनीचौर जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, वटम प्रेसर साफ्ट, टप पेनस्टक र पेनस्कट पाइपलाइन जडान सकिएको हो ।
छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ, एक किलोमिटर ८२ मिटर लामो पेनस्टक पाइपलाइन, एक सय ९६ मिटर भर्टिकल प्रेसर साफ्ट, ६१ मिटर अग्लो सर्ज साफ्ट, तीन सय २९ मिटर वटम प्रेसर साफ्ट, पाँच सय नौ मिटर टप पेनस्टक जडान भएको छ ।
वि.स. २०८१ साउन १५ गते ‘ब्रेकथ्रु’ भएको आयोजनाको मुख्य सुरुङको ‘ग्राउटिङ र लाइनिङ’ (पलास्टर र ढलान) गर्ने काम सकिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो ।
“बाँध स्थल नजिकको अडिट १, अधेरीखोलाको अडिट २, पिप्लेको अडिट ३ र तिल्केनीचौरको अडिट ४ को जक्सनमा मात्र ग्राउटिङ र लाइनिङ बाँकी छ,” उहाँले भन्नुभयो “ ‘बटर फ्लाई भल्ब च्याम्बर’ र ‘म्यानुअल च्याम्बर’को संरचना पनि तयार भइसकेको छ ।”
हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको २०८२ फागुन महिनाभित्र परिक्षण उत्पादन शुरु गर्ने लक्ष्य सहित बाँध, सुरुङ, विद्युतगृह, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फको कामलाई क्रमश पूर्णता दिने चरणमा रहेको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो ।
रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण भएको छ । एक सय १९ दशमलब सात मिटर लामो, ३१ मिटर चौडाई र १६ मिटर अग्लो डिसेन्डर (पानी थिग्राउने पोखरी) निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ ।
तिल्केनीचौरमा बिद्यूतगृह निर्माणको कार्य ९८ प्रतिशत सम्पन्न भएको छ । विद्युतगृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने एक सय २८ मिटर लामो टेलरेस डक्ट निर्माण सम्पन्न भएको छ । विद्युतगृहको संरचना निर्माण सकेर २० मेघावाट क्षमताको एउटा युनिटमा टर्वाइन, जेनेरेटरका पाट्सहरु जडान गर्ने काम सकेर दोस्रो युनिटको उपकरण जडान कार्य अन्तिम चरणमा रहेको आयोजनाका ब्यवस्थापक राजबहादुर बिष्टले बताउनुभयो ।
“वि.सं. २०७६ कात्तिकमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृहको उपकरण आयात सकेर जडानलाई तिब्रता दिएको छ,” उहाँले भन्नुभयो “विद्युतगृह नजिकै स्विचयार्डको लागि फाउण्डेशन निर्माण कार्य सम्पन्न भई स्विचयार्डको उपकरणहरु जडान कार्य भई रहेको छ ।”
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार (आइभिआरसिएल) सँगको ठेक्का रद्ध गरि ३२ मेगावाटबाट आयोजनाको क्षमता अभिवृद्धि गरी नयाँ प्रारुपमा अघि बढाइएको थियो । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणामा राहुघाट जलबिद्युत आयोजना निर्माण भइरहेको छ ।
बि.स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स लिमिटेडले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले दैनिक चार घण्टा पिकिङ्ग सहित वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा बेलीब्रिज निर्माण गरि बिद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । राहुघाट जलबिद्युत आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुलबाट प्रभावित क्षेत्रका बासिन्दाहरुलाई पनि सुबिधा पुगेको छ ।
राहुघाट जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने घुमाउनेताल देखि रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट खण्डको सडकलाई स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुगेको छ । बाँध स्थलको माथी दग्नाम गाउँको फेदीबाट झर्ने पहिरो रोकथामका लागि चेक ड्याम तथा क्याच डे्रन निर्माण कार्य भई रहेको छ साथै थप अध्ययन कार्य भई रहेको छ ।
पिप्लेमा कम्पनीको तथा परामर्शमदाताका कर्मचारीको लागि आवास तथा कार्यालय संचालनको लागि १५ वटा भवन निर्माण भइसकेको छ । राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रशारण लाइन निर्माण कार्य सम्पन्न भई सकेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...