थापाचौर जोड्ने झोलुंगे पुलले साँवताबासीको एक दशकको सपना पुरा गरिदियो

Gandaki Ghumau

म्याग्दी ः दुईतिर अग्ला भिरको फेदीमा रहेको म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने साँवताको किनारमा म्याग्दी नदी बग्छ । बर्खायाममा साँवताबासी भिरबाट खस्ने पहिरो र किनारको म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएका छन् ।

“दिच्याम र देविस्थानको भिरबाट पहिरो खसेर अन्यत्र जाने बाटो नहुँदा पछिल्लो केहीवर्षयता बर्खामा बारीमा थुम्कोमा बसेर रात कटाएका थियौ,” साँवताकी जसीकला पुनले भन्नुभयो “साँवता देखि छिमेकी गाउँ थापाचौर जोड्ने झोलुङ्गे पुल बनेपछि अघिपछि आवत जावत गर्न सहज हुनुका साथै बर्खामा बाढी पहिरोको चपेटामा पर्दा भागेर ज्यान बचाउन सकिने भयो भनेर ढुक्क भएका छौ ।”

१३ घरपरिवारको बसोबास रहेको साँवताका बासिन्दाको एक दशकदेखिको सपना मालिका गाउँपालिका–५ थापाचौर र वडा नम्बर ६ को साँवटा बस्ति जोड्ने म्याग्दी नदीमाथी झोलुुङ्गे पुुल निर्माण भएपछि पुरा भएको छ । खानेपानी, विद्युत र सडक सुविधा पुगिसकेको साँवताबासीको मुख्य माग झोलुङ्गे पुल थियो ।

Shreekrishna

पूर्वाधार विकास कार्यालयले थापाचौर र साँवता जोड्ने म्याग्दी नदीमाथी ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । स्थानीयबासी लबहादुर पुनले वि.स. २०७२ देखि गर्दै आएको झोलुङ्गे पुलको माग पुरा भएकोमा खुसी व्यक्त गर्नुभयो ।

“हाम्रो सानो बस्तिमा प्रदेशका जनप्रतिनिधीको नजर परेपछि बल्ल झोलुङ्गे पुल निर्माण भयो,” उहाँले भन्नुभयो “दरवाङ–दिच्याम सडकबाट खस्ने पहिरोले सडक र पैदलमार्ग बन्द गराउँदा प्राकृतिक नाकाबन्दीमा बस्नुपर्ने साँवताबासीको समस्या पुल बनेपछि हटेको छ ।”

Gunasthariya Shiksya

स्थानीयबासी राजु परियारले बालबच्चा विद्यालय जान, आउन, बिरामीलाई स्वास्थ्य संस्था लैजान, बिवाह, मलामी जान पुलले सहज बनाएको बताउनुभयो । दरवाङ बजारमा किनमेलका लागि जान आउन पनि सहज भएको परियारले बताउनुभयो ।

साँवता देखि दरवाङ बजार हुदै घुमाउरो बाटो हिडेर खोलापारी रहेको थापाचौर पुग्न २० देखि २५ मिनेट लाग्ने गरेकोमा यात्राअवधी तीन मिनेटमा छोटिएको बताउनुभयो । यो पुलबाट मालिका गाउँपालिका–६ दरवाङ, सावटा, वडा नं. ५ थापाचौर, ७ बिम र धवलागिरी गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् ।

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र ठेकेदार कम्पनी सोमरस निर्माण सेवासँग गत असार महिनामा रु. ३९ लाखमा २०८२ असार ३ गते ठेक्का सम्झौता भएको थियो । २०८३ असार महिनासम्म ठेक्काको म्याद भएपनि लक्ष्यभन्दा छ महिनाअघि सम्पन्न भएको कार्यालयले जनाएको छ ।

पुलको सोमबार अनुगमनमा पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसँग स्थानीयबासीले एक दशकदेखिको सपना पुरा भएको र सुरु गरेको एक महिनामै पुल निर्माण सकिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए । चुनावको समयमा साँवताबासीसँग जुग्जालीले गर्नुभएको पुल बनाउने प्रतिवद्धता पुरा गर्नुभएको स्थानीयबासीले बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...