बास्कुनामा लाटोकोसेरो संरक्षण

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई संकटापन्न पंक्षी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ ।

२१ दशमलब ६५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पाइने लाटोकोसेरो जोगाउन र पर्यापर्यटनको उद्देश्यले संरक्षण क्षेत्र बनाइएको हो । देउरालीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम थापाले संरक्षण क्षेत्र घोषणा र सचेतनामुलक कार्यक्रमका सञ्चालन भएपछि लाटोकोसेरो प्रशस्त देखिन थालेका बताउनुभयो ।

“वयट्ली फण्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा प्रकृतिका साथी संस्थाले डिभिजन वन कार्यालय म्याग्दीसँगको समन्वयमा एक वर्षअघि घोषणा गरेको देउरालीपाखा सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष तथा गुलेली प्रतिबन्धित क्षेत्र प्रभावकारी बनेको छ,” उहाँले भन्नुभयो “यो वन क्षेत्रभित्र गुलेली प्रयोग गरी चराहरु मार्न, लाटोकोसेरोको गुँड भएको रुख काट्न तथा यिनको शिकार गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya
default

अध्यक्ष थापाका अनुसार एक वर्षअघि गरिएको अध्ययनका क्रममा बास्कुना क्षेत्रमा नेपालमा पाइने २३ मध्य दुई प्रजातिका लाटोकोसेरा भेटिएका थिए । बेनी नगरपालिका –४ का वडा सदस्य तथा बास्कुनाका बासिन्दा सन्दिप खत्रीले लाटोकोसेराको संरक्षणसँगै बास्कुना कृषि र पर्यापर्यटनको गन्तब्य बनाउन लागिएको बताउनुभयो ।

२५ घरधुरीको बसोबास रहेको बास्कुना गाउँभरी सुन्तला खेती भएको छ । सुन्तला बगैचाको वरपरको जङगलमा लाटोकोसेराको बासस्थान छ । राती र साँझको समयमा लाटोकोसेराको आवाज सुन्न सकिन्छ । ठूला र बूढा रुख लाटोकोसेरोको बासस्थान हुन् । आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको छ ।

सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको संरक्षणविद् डा हुम गुरुङले बताउनुभयो । “नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्”, उहाँले बताउनुभयोे, “तीमध्ये नौ प्रजाति राष्ट्रियरुपमा सङ्कटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको छ ।”
लाटोकोसेरोले मुसा खाएर किसानको बाली नाली जोगाउन भूमिका खेल्छ । यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । यसका साथै अन्य हानिकारक कीरा, फट्याङ्ग्रा, सर्प, छेपारोलगायत जीवलाई आहारा बनाएर लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचत्रलाई गतिशील बनाउन भूमिका खेलेको छ ।
लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२०२९) लागू गरेको डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो । उहाँका अनुसार यस योजनाले लाटोकासेरो संरक्षण र चोरी सिकार नियन्त्रण हुने विश्वास गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...