रघुगङ्गामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

रघुगङ्गा माध्यमिक विद्यालय पिप्लेको खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको ऊर्जा, जलस्रोत तथा सिँचाइ पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर) ले उद्घाटन गर्नु भयो ।
प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न १२ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै पूर्व राज्यमन्त्री गर्बुजाले खेलकुद प्रतियोगिताले विद्यार्थीमा भएको खेल प्रतिभालाई उजागर गर्न टेवा मिल्ने अपेक्षा व्यक्त गर्नु भयो ।

खेलाडी उत्पादनको नर्सरीका रूपमा रहेको विद्यालयमा खेल पूर्वाधारको विकास गर्न स्थानीय तहले प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाइ छ । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नेपाली कांग्रेसका जिल्ला उपसभापति केबी भण्डारी, रघुगङ्गा माविका प्रधानध्यापक रमेशसिंह ठकुरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले विद्यालय स्तरमा खेल क्षेत्रको विकासका लागि खेल पूर्वाधारको निर्माणमा स्थानीय तहले जोड दिनुपर्ने बताउनु भयो ।

Shreekrishna
Gunasthariya Shiksya

गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले खेल क्षेत्रको विकासका लागि प्रत्येक वडा र विद्यालयमा व्यवस्थित खेलमैदान निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले आयोजना गर्ने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा टेवा मिलेको बताउनु भयो ।

भलिबल, एथलेटिक्स र कबड्डी विधातर्फ छात्र र छात्राहरूको १३–१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा दुई सय २५ खेलाडी विद्यार्थीले विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा विजेता विद्यालयलाई ६० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ४० हजार र ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।

उद्घाटन खेलको १५ सय मिटरको दौडमा छात्रतर्फ अमर माविका शिव सुनार प्रथम, मुक्तिधाम माविका उपेश विक दोस्रो र ज्ञानदोय माविका आदर्श विक तेस्रो हुनु भयो । यसैगरी छात्रातर्फ मुक्तिधाम माविकी सोनिया खड्का प्रथम, अमर माविकी सुप्रिया नगरकोटी दोस्रो र महेन्द्र माविकी सुस्मा विकले तेस्रो स्थान प्राप्त गर्नु भयो ।

मार्चपासमा रघुगङ्गा मावि पिप्ले प्रथम, अमर मावि पाखापानी दोस्रो र जनता मावि दग्नाम तेस्रो भएका छन् । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...