बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गरिदै

Gandaki Ghumau

बेनी ः म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित बेनी–पाखापानी सडक योजना अन्तर्गत बेनी नगरपालिका–९ किराखोर देखि नेप्टेचौर स्थित वडा कार्यालय सम्म करिब दुई किलोमिटर दुरीमा कालोपत्र गर्न बिटुमीन बिछ्याइएको हो ।
बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण, सबबेस, बेस राख्ने काम सकिएको सडकलाई कालोपत्र गर्न निर्माण कम्पनीले बिटुमीन बिछ्याउन थालेको जानकारी दिनुभयो ।
“किराखोर देखि नेप्टेचौर हुदै तोरीपानी सम्मको चार किलोमिटर दुरीको स्तरोन्नतिका लागि सञ्चालित योजना अन्तर्गत पहिलो चरणमा स्ट्रक्चर तयार भएको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न लागिएको हो,” उहाँले भन्नुभयो “नेप्टेचौर–तोरीपानी खण्डमा ग्राभेल गर्नका लागि स्ट्रक्चर बनाउने काम अन्तिम चरणमा पुगेको छ ।”
तीन दशमलब पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको छ ।

Gunasthariya Shiksya


यो सडक योजना निर्माणका लागि वि.स. २०८१ जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी–सुवास कन्ट्रक्सनले रु. १० करोड १६ लाख एक हजार तीन सय ६४ मा ठेक्का सम्झौता गरेको थियो । चालु आर्थिक वर्षसम्म ठेक्काको म्याद रहेको यस योजनाको करिब ७० प्रतिशत भौतिक प्रगति भएको कार्यालयका सवइञ्जिनियर रविन चोखालले बताउनुभयो ।
प्रिमिक्स प्रबिधीको कालोपत्र गरिने उहाँले बताउनुभयो । वि.स. २०५६ मा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुन लागेको हो । स्थानीयबासी उत्साहीत भएका छन् । धुलो र हिलोबाट मुक्ति मिल्ने, यात्रा अवधी छोटिने, दुर्घटनाको जोखिम घट्ने, झञ्जट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने, सार्वजनिक यातायातको भाडादर घट्ने अपेक्षा गरिएको छ । बेनी देखि किराखोर सम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघिनै कालोपत्र र ढलान गरेका छन् ।
किराखोर–नेप्टेचौर–तोरीपानी सडक स्तरोन्नतिका लागि म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा आर्थिक वर्ष २०८०÷०८१ मा रु. चार करोड बजेट बिनियोजन र रु. २० करोडको स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का लगाउने निर्णय गराउनुभएको थियो ।
तोरीपानी देखि पात्लेखेत र झि हुदै पाखापानी तर्फ पनि स्तरोन्नतिका लागि थप बजेटको ब्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिने म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरि भण्डारीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...