गलेश्वर मन्दिरमा ‘हाइ मस्ट लाइट’ जडान

Gandaki Ghumau

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिर परिसर रातीको समयमा पनि उज्यालो हुन थालेको छ ।

गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेपछि मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो । म्याग्दीमा पहिलो पटक गलेश्वरमा यस्तो प्रबिधिको विद्युत लाइट जडान गरिएको हो ।

कोषका संरक्षक समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले लाइटको स्विच थिचेर बिहिबार साँझ उद्घाटन गर्नुभयो । कोषका पदाधीकारी, नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामी लगायत प्राविधिक र आपुर्तिकर्ता कम्पनीका प्रतिनिधीहरुको टोलीको उपस्थिति थियो ।

Shreekrishna
Gunasthariya Shiksya

रु. नौ लाख ७४ हजार खर्चेर बत्ती जडान गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । “गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटी लगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ति जडान गरिएको हो,” उहाँले भन्नुभयो “रातको समयमा पनि उज्यालो भएपछि भक्तजनलाई सहज, सुरक्षा ब्यवस्थापनमा सहयोग पुग्नुका साथै गलेश्वर मन्दिर परिसर रमणीय पनि देखिएको छ ।”

१६ मिटर अग्लो विद्युतको पोलको टुप्पोमा चारै तिर फर्काएर चार÷चार सय वाट क्षमताका आठ वटा लाइट राखिएको छ । अग्लो पोलमा राखिएको वत्तिले मन्दिर परिसरलाई उज्यालो बनाएको छ । रातको समयमा मात्र बत्ती बल्ने र दिउँसो बन्द हुने स्वचालित उपकरण जडान भएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्क्षा पूरा हुने विश्वास रहेको छ ।

गलेश्वर मन्दिरमा दाताले चढाउने भेटि र दाताको सहयोग पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिएको छ । यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक संगितमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...