ताराखेतमा थकाली ‘होमस्टे’

Gandaki Ghumau

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिका –२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ ।
तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गर्नुभएको हो । उक्त होमस्टेमा एक दिनमा २० जना पाहुना बास बस्न सक्ने क्षमता रहेको छ ।
सिङ्गा तातोपानी, टोड्के, बाबियाचौर, बरंजा, झाँक्रेपानी, दरवाङ घुम्न आउने पाहुनालाई लक्षित गरेर घरका कोठाहरुलाई व्यवस्थित गरेर घरबास सञ्चालन गरेको भट्टचनले बताउनुभयो ।
“कृषि फार्ममा उत्पादन भएको ताजा तरकारी, दूध, दही, माछा, मासु, अण्डा, स्थानीय गौरीया, गुडुरा जातको धानको भात, कोदोको ढिडो, रोटी, तरकारीका परिकारको स्वाद चखाउने गरेका छौ,” उहाँले भन्नुभयो “पुरानो घरलाई मर्मत गरेर पाहुना राख्ने कोठाहरु बनाएको छु ।”

Gunasthariya Shiksya


यसअघि निर्माण ब्यवसायमा सक्रीय भट्टचनको परिवार जिल्ला सदरमुकाम बेनी बजारको बसाई छाडेर गाउँ फर्किएर होमस्टे चलाएका हुन् । पाहुनाहरुले पारिवारिक वातावरणमा रमाउन पाउँछन् ।
पाहुनाहरुलाई खुवाउन स्थानीय जातका कुखुरा, बाख्रा, भैसीपालन गर्नुभएको छ । साग र तरकारी पनि फार्मबाटै उत्पादन हुन्छ । एकान्त र शान्त वातावरणमा मौलिक थकाली खानाका परिकारको स्वाद लिन सकिन्छ । गौरीया र गुडुरा जातको धानको भात मगमग बास्ना आउँछ । आडिलो र स्वादिलो पनि हुन्छ ।
तोराखेत गाउँ बेनी बजारदेखि १३ किलोमिटर पश्चिमतर्फ रहेको छ । प्राकृतिक उपचार स्थल सिङ्गा–तातोपानी कुण्डमा स्नान गर्न आउने पाहुनाहरु करिब पाँच किलोमिटर सडकमा सवारी साधनको यात्रापछि थकाली होमस्टेमा पुग्ने गरेका छन् ।
होमस्टे र कृषि फार्ममा भट्टचन परिवारका तीन जना स्वरोजगार बन्नुका साथै थप दुई जनालाई नियमित रोजगारी दिएका छन् । तोराखेत वि.स. २०६४ अघिसम्म ब्यापारिक केन्द्र थियो । बाबियाचौर र दरवाङ सडक सञ्जालमा नजोडिदाँसम्म बेनीबाट छुट्ने सवारी साधन तोराखेत पुगेर रोकिन्थे र बेनीतर्फ फर्कन्थे ।
बेनी आउने र फर्कनेहरु देखि मालिका, धवलागिरी र तमानखोला गाउँपालिकाका बस्तिहरुमा खाद्यान्न यहीबाट आपुर्ति हुने गर्दथ्यो । वि.स. २०६४ मा दरवाङ सिधा सडक सञ्जालमा जोडिएपछि ओझेलमा परेको तोराखेतमा थकाली होमस्टेले चहलपहल बढाउन थालेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...