बेनीमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११७ औ जन्मजयन्ति मनाइयो

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनीमा सोमबार नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ ।

पुलस्त्य साहित्य प्रतिष्ठान, म्याग्दी साहित्य समाज र म्याग्दी सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा सम्पन्न ‘देवकोटा परिचर्चा तथा रचना वाचन कार्यक्रम’ मा वक्ताहरूले देवकोटाको साहित्यिक योगदान, विचारधारा र मानवतावादी दृष्टिकोणबारे समीक्षा गरेका थिए ।
कार्यक्रमका प्रमुख वक्ता साहित्यकार तथा समीक्षक रामप्रसाद सुवेदीले देवकोटालाई नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादी धाराका प्रवर्तकका रूपमा व्याख्या गर्नुभयो । “देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता सशक्त रूपमा अभिव्यक्त छन्,” उहाँले भन्नुभयो “देवकोटा पूर्वीय र पाश्चात्य दर्शनको अद्वितीय संयोजन पनि हुनुहुन्थ्यो ।”

सुवेदीका अनुसार देवकोटाको व्यक्तित्व र कृतित्व दुवै नेपाली साहित्यका शिखर प्रतीक हुन् । वरिष्ठ साहित्यकार ध्रुवलाल शर्माले देवकोटाको जीवनमा देखिने त्याग, करुणा र सामाजिक संवेदनाको चर्चा गर्नुभयो ।

Shreekrishna

देवकोटा आफैं भोकै बसेर पनि दुःखी र पीडितका लागि आफ्नो सम्पत्ति समर्पण गर्ने समाज सुधारक भएको शर्माले बताउनुभयो । त्यस्तै, विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा युवा साहित्यकार प्रकाश अधिकारीले देवकोटालाई “कवि मात्र नभई आत्मबोधका दार्शनिक र मानवताको धर्मगुरु”का रूपमा चित्रण गर्नुभयो ।

Gunasthariya Shiksya

म्याग्दीका वरिष्ठ साहित्यकार अजय मिलन श्रेष्ठले म्याग्दीमा हाल साहित्यिक गतिविधि सुस्ताउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । देवकोटाको जस्तो सिर्जनशील चेतना र ऊर्जाले नयाँ पुस्तामा साहित्यिक उत्साह जगाउन सक्नुपर्ने श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा पुलस्त्य साहित्य प्रतिष्ठानका अध्यक्ष नवीनप्रकाश बानियाँ, नन्दकला हरिलाल स्मृति प्रतिष्ठानका संरक्षक गणनाथ पौडेल, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान, पर्वतका अध्यक्ष जीवन मल्ल, सचिव चन्द्रबहादुर लामिछाने, सदस्य हिराबहादुर जिसी, म्याग्दी पुस्तकालयका साहित्य सचिव दीपक पौडेल, सञ्चारकर्मी कृष्ण जिसी, साहित्यकार हरिप्रसाद पौडेल, शिव सस्मित, शैलेश श्रेष्ठलगायतले देवकोटाका रचनाहरू साहित्यप्रेमी मात्र नभई सम्पूर्ण मानवका लागि प्रेरणास्रोत रहेको बताउनुभयो ।

वक्ताहरूका अनुसार देवकोटाको चेत ज्ञान, विज्ञान र दर्शनको सङ्गम भएको र उनका सशक्त एवम् चेतनायुक्त रचनाले नेपाली साहित्यको गौरव आजपर्यन्त उच्च बनाएको छ । म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा म्याग्दी पुस्तकालयका साहित्य सचिव दीपक पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुलस्त्य साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा साहित्यकार शिव सस्मितले गर्नुभएको थियो ।

वि.सं. १९६६ साल तिहारको लक्ष्मीपूजाको दिन काठमाडौंमा जन्मिएका महाकवि देवकोटाले निबन्ध, कथा, नाटक, उपन्यास, गीत र समालोचना लगायतका विधामा कलम चलाउनुभएको थियो । उहाँको कृति ‘मुनामदन’ नेपाली भाषामा सबैभन्दा बढी बिक्री हुने पुस्तक बनेको छ ।
देवकोटा नेपाल सरकारका पहिलो जननिर्वाचित शिक्षा मन्त्री समेत बन्नुभएको थियो ।

राणा शासनकालमा जनताको शिक्षा अधिकारका पक्षमा आवाज उठाउँदा उहाँले जेल सजाय भोग्नुपरेको थियो । वि.सं. २०१६ साल भदौ २९ गते दिवंगत हुनुभएका देवकोटाको विचार, दर्शन र रचनाहरू आज पनि नेपाली साहित्यका जीवित प्रेरणास्रोत बनेर रहँदै आएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...