
म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा रहेको बेगखोलाबाट ठेक्का सम्झौता बिनै उत्खनन् र भण्डारण गरिएको बालुवा जफत भएको छ ।
जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले जफत गरेको बालुवाको मूल्याङ्कन गरेर जरिवानाका लागि गाउँपालिकालाई सिफारिस गरेको हो ।

जफत भएको बालुवाको रु. १७ लाख ५३ हजार ५० मूल्याङ्कन गरेर कारबाही र लिलामीका लागि गाउँपालिकालाई सिफारिस गरेको अनुगमन टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

स्थानीय तहसँग ठेक्का सम्झौता गरेर तोकिएको परिणाममा मात्र नदीजन्य बस्तु उत्खनन् र निकासी गर्न पाउने व्यवस्था छ । अनुगमन टोलीले बेगखोलामा ठेक्का सम्झौता बिनै बालुवा उत्खनन् र भण्डारण गरेको भेटाएको थियो ।
“बालुवा जफत गरेर राजस्व संकलनका लागि गाउँपालिकामा पत्र पठाएका छौ,” जिससका कार्यबाहक प्रमुख खत्रीले भन्नुभयो “बगरबाट अवैध रूपमा उत्खननलाई समेत रोक्न निर्देशन दिएका छौ ।”
