
बेनी,। कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि बिहीबार करिब डेढ लाख रुपैयाँ संकलन भएको छ ।
न्युरोडमा बस्दै आउनुभएका थापाको उपचारका लागि उहाँका छिमेकी र क्षेत्री समाजको अगुवाईमा एक लाख ४७ हजार ९०० रुपैयाँ सहयोग जुटेको हो । रेष्टुरेन्ट ब्यवसायी गोपाल पौडेलको नेतृत्वमा संकलन भएको ५४ हजार ९०० रुपैयाँ थापाको खातामा जम्मा गरको पौडेलले बताउनुभयो ।
यसैगरी हिमाल कार्कीको नेतृत्वमा जिल्ला ब्याडमिन्टन संघका खेलाडीहरुले ५२ हजार ५०० रुपैयाँ संकलन भएको छ । यसैगरी लक्ष्मी कार्कीको नेतृत्वमा क्षेत्री समाजले ४० हजार ५०० रुपैयाँ संकलन गरेको कार्कीले बताउनुभयो ।



बुधबार राधाकृष्ण ढकालको नेतृत्वमा एक लाख ९० हजार ५०० रुपैयाँ संकलन भएको थियो । ५३ बर्षिय थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।
नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष र धारापानी–काठमाडौ सम्पर्क समितिले पनि सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।
निर्माण सम्बन्धी काम गर्ने थापा जेठ महिनादेखि अस्पतालमा भर्ना हुनुभएको छ । थापाकी श्रीमति यामुले नियमित उपचारमा करिब २० लाखभन्दा धेरै खर्च हुने भन्दै सहयोग अभियानमा साथ दिन अपिल गर्नुभएको छ ।
