सिपयुक्त जनशक्ति अभावमा भेडाको ऊन खेर जान थाल्यो

Gandaki Ghumau

बेनी, ः दुई दशक अघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीय पूर्णकला पटेललाई भेडाबाख्राको ऊनबाट विभिन्न सामान बनाउन भ्याईनभ्याई हुन्थ्यो । भेडा, बाख्राको शरिरबाट निकालेको ऊन चर्खामा प्रसोधन गरेर धागो बनाई काम्लो, हरदुब्लो बुन्न छाडेको करिब २० वर्ष भएको पूर्णकला बताउनुहुन्छ ।

“न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा काम्लो ओड्ने चलन थियो,” उहाँले भन्नुभयो “सिरक, डसना, गलैजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्रीसँगै सिप पनि लोप हुन थालेको छ ।”
भेडाबाख्राको शरिरमा लामो भएको रौ काटेर चर्खामा घुमाई ऊन (धागो) बनाउने चलन हराउदै गएको छ । परम्परागत राडी, पाखी, काम्लो, हरदुुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको शरिरबाट निकालिने ऊन कृषकले जंगलमै फाल्ने गरेका छन् ।

असार र कात्तिक महिनामा भेडाको शरिरको ऊन निकाल्ने गरिन्छ । ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजिवीको संक्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ । बिक्री नहुुने भएकाले घरायसी उपभोग बाहेकको ऊन निकालिएको ठाउँमै छाडिने र त्यसै कुहिएर खेर जाने गरेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका कृषक कमल पाइजाले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“ऊन निकाल्ने आधुनिक औजारको अभावमा कैचीको सहाराले काट्ने गरिन्छ,” उहाँले भन्नुभयो “सिपयुुक्त जनशक्तिको अभावका कारण भेडाको ऊनबाट कपडा बनाउने चलन हराउदै गएपछि खपत पनि घटेको हो ।” भेडाको ऊनबाट बुनेका मौलिक कपडा वातावरणमैत्री हुन्छ । म्याग्दीको गुर्जा, मल्कवाङ र कुइनेमंगलेमा बसोबास गर्ने अल्पसंख्यक छन्त्याल समुदायको मौलिक पोषाक ऊनबाट बनेका कपडा हुन् ।

आर्थिक वर्ष २०७९÷८० मा १८ हजार पाँच सय ६७ भेडा रहेको म्याग्दीमा २०८०÷०८१ मा घटेर १७ हजार पाँच सय ६५ वटामा झरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष ६१ हजार चार सय २४ वटा बाख्रा रहेको म्याग्दीमा २०८०÷०८१ मा ६० हजार चार सय २३ मा झरेको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताउनुभयो ।

भेडाको ऊनको बजारीकरणमा समस्या भएको उहाँले बताउनुभयो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले भेडाबाख्राको ऊनबाट सामान बनाउने लगायत मौलिक सिपहरु लोप हुन नदिन समुदाय स्तरमा अन्तरपुस्ता ज्ञान सिप हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका बासिन्दाले मौलिकता जोगाउन गाउँका सबैले भेडाबाट बनेका ऊनका कपडा लगाउने गरेका वडा सदस्य टेकजित छन्त्यालले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...