
बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु भएको छ ।
संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले १५ दिनको परिक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि ब्यापारिक उत्पादन शुरु गर्ने समयतालिका बनाएको छ ।
संयुक्त उर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट मात्र उत्पादन गरेको आयोजनाले भदौको शुरुदेखि पूर्ण क्षमतामा व्यवसायिक रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो ।

“आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन,” उहाँले भन्नुभयो “विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन) लगायतका विषय परीक्षणकै क्रममा रहेकाले उत्पादन क्षमतामा घटबढ भएको हो ।”


कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युतगृहमा खसालेर विद्युत् उत्पादन थालिएको हो । यस आयोजनामा तीन हजार तीन सय ८२ मिटर लामो सुरुङ र छ सय ३४ मिटर पेनस्टक पाइपलाइनबाट विद्युतगृहमा पानी खसालिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्डबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ ।
रु. तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर÷त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।
