म्याग्दीमा सुत्केरी हुने र गर्भपतन गराउने १४ प्रतिशत २० वर्षमुनीका

Gandaki Ghumau

बालबिवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौति
सन्तोष गौतम
बेनी, ः म्याग्दीमा २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको संख्या करिब १४ प्रतिशत छ ।

बालबिवाहका कारण शारिरिक र मानसिक रुपमा परिपक्क नभएका युवती तथा किशोरीहरु आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार तीन सय ८४ जना मध्य १३ दशमलब ७२ प्रतिशत अथवा एक सय ९० जना २० वर्ष मुनीका छन् ।

कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले गत आवमा २० वर्ष मुनीका एक सय ६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको संख्या २९ जना रहेका बताउनुभयो । २० वर्ष माथीका पाँच सय २८ जना सुत्केरी भएका र छ सय ६६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

Shreekrishna

आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने एक हजार चार सय ६५ जना मध्य २० वर्ष मुनीकाको संख्या १० दशमलब शुन्य सात प्रतिशत अथवा एक सय ६५ जना थियो । २० वर्ष मुनीका एक सय ३२ जना र २० वर्ष पुगेका पाँच सय ९७ जना सुत्केरी भएका थिए ।

अघिल्लो वर्ष गर्भपतन गराउने २० वर्ष मुनीकाको संख्या ३३ जना थियो भने २० वर्ष बढीका आठ सय ६८ जना थिए । वि.स. २०६८ को जनगणना अनुसार म्याग्दीमा प्रजनन् योग्य उमेर समूहका महिलाको संख्या २१ हजार एक सय ८३ जना छ । जिल्लाका ४७ प्रतिशत दम्पत्तीले मात्र परिवार नियोजनका साधनको प्रयोग गर्ने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
कारण र असर
म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा शैली फेरिएर बालबिवाह कायमै रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताउनुभयो । बालबिवाह, असुरक्षित र अनुच्छिुक गर्भधारणको प्रमुख कारण मेलाजात्रा भएको उहाँको भनाई छ ।

“मेलाजात्राले धेरै किशोरी तथा युवतिको भविष्य बिग्रिएको छ,” रेग्मीले भन्नुभयो “गरिवी, अभिभावकको निगरानी नहुने, असल अभिभावकत्व र संरक्षण नपाउने, भावनात्मक परिवन्धमा परेर किशोरीहरु बालबिवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छ ।”

Gunasthariya Shiksya

शारिरिक तथा मानसिक रुपमा परिपक्क नभएका किशोरी, युवति आमा र गर्भवति हुँदा उच्च शिक्षा, रोजगारीको अवसरबाट बञ्चित हुने र सामाजिक रुपमा पछि गर्ने गरेका उपप्रध्यापक रेग्मीले बताउनुभयो ।

२० वर्ष भन्दा कम उमेरमा बिवाह दर्ता नहुने, बिवाह दर्ता नभईकन जन्मदर्ता नहुने भएकाले बालबालिकाहरुलाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ ।

उमेर नपुगी बिवाह गरेका दम्पत्तीले जिम्मेवारी पुरा गर्न नसक्ने र पारिवारिक विचलन आउने गरेको छ । पारिवारिक बिचलनका कारण सम्वन्ध बिच्छेद बढेको छ । म्याग्दी जिल्ला अदालतमा आर्थिक वर्ष २०८१÷०८२ मा दर्ता भएका पाँच सय ७२ मध्य तीन सय ३३ वटा सम्बन्ध बिच्छेदका रहेका श्रेष्तेदार भोलाराज रेग्मीले बताउनुभयो ।

पछिल्ला केही वर्षयता म्याग्दी अदालतमा दर्ता हुने आधा भन्दा बढी मुद्दा सम्बन्ध बिच्छेदका हुने उहाँले बताउनुभयो । अदालत र प्रहरीमा बालबिवाह सम्बन्धी मुद्दाको संख्या भने शून्य छ ।
स्वास्थ्यमा जोखिम
प्रादेशिक अस्पताल बेनीका प्रमुख डा. रविरञ्जन प्रधानले परिवार नियोजनका साधनको प्रयोग कम हुनु, सुत्केरी हुने भन्दा गर्भपतन गराउनेको संख्या बढी र २० वर्ष भन्दा कम उमेर समूहका सुत्केरी र गर्भपतन गराउनेको संख्या बढ्नुले मातृशिशु प्रजनन् स्वास्थ्यमा चुनौति थपेको बताउनुभयो । १४÷१५ वर्षका किशोरीहरु समेत आमा बनेका उहाँले बताउनुभयो ।

“सुरक्षित गर्भपतन सेवाको पहुँचसँगै सेवा लिने बढ्नुलाई सकारात्मक मानिएपनि धेरै पटक गर्भपतन गराउँदा स्वास्थ्यलाई राम्रो गर्दैन,” उहाँले भन्नुभयो “शारिरिक र मानसिक रुपमा सक्षम भइनसकेका किशोरीहरु आमा बन्दा उनिहरुको प्रजनन् स्वास्थ्यमा जोखिम हुन्छ ।”

बालबिवाह न्युनीकरणका लागि राज्यका निकायहरुले जिम्मेवार भएर सचेतनामुलक अभियान चलाउने, अभिभावकहरुले सन्तानप्रतिको जिम्मेवारी निभाउने र स्वयंम किशोरी तथा युवतीहरु सचेत हुने, मेलाजात्रालाई नियमन गर्नुपर्ने उपप्रध्यापक रेग्मीको भनाई छ ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले प्रविधिको दुरुपयोग, बालबिवाह लगायत हानिकारक प्रथाहरुका विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । विद्यालय, उच्च मावि र क्याम्पस अध्ययन गर्ने विद्यार्थीहरुलाई साइवर अपराध सम्बन्धी अभिमुखीकरण गरिएको छ । यसैगरी जिल्ला स्तरीय बाल सञ्जाल र विद्यालयका बाल कल्वहरु मार्फत बालबिवाह न्युनीकरणका लागि सन्देशमुलक कार्यक्रम भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...