बाँझिएको पाखोबारीमा झाडी फाडेर हेम माविका विद्यार्थीको तरकारी खेती

Gandaki Ghumau

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती गरी हराभरा बनाएका छन् ।

झिनडाँडा स्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरि विद्यार्थीहरुले तरकारी खेती गरेका हुन् । तरकारी खेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो ।

विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेती सम्बन्धी व्यवहारिक र व्यवसायिक ज्ञान, सिप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारी खेती गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“धवलागिरीको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रम मार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारी खेती गरेका हुन,” उहाँले भन्नुभयो “विद्यार्थीहरुले पढ्दै कमाउने सिप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।”

Gunasthariya Shiksya

बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिडालु, करेला, फापर, रायोसाग, धनीया, बन्दा, काउली लगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु. पाँच हजार तिर्नेगरी भाडामा लिएका छन् ।

विद्यालय समयपछि साँझ एक देखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीहरुले जिवनउपयोगी र व्यवसायिक सिप सिक्नुका साथै ‘रिफ्रेस’ महशुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थीहरु रहेका हेम नमुना आवासीय माविका प्रअ सेरबहादुर केसीले बताउनुभयो ।

छात्रावासका विद्यार्थीहरुका लागि आवश्यक तरकारी करेसाबारीबाट आपुर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । करेसाबारी स्थापना गर्न धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. एक लाख ५० हजार सहयोग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सिप सिकाउने उद्देश्यले हेम नमुना र मुनाको धवलागिरी माध्यमिक विद्यालयमा “धवलागिरीको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गत वर्ष रु. तीन लाख बजेट बिनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...