
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाले परिक्षण उत्पादन थालेको छ ।
ह्युम कन्सल्ट प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परिक्षणका लागि यसै हप्तादेखि विद्युत उत्पादन शुरु गरेको हो । विद्युतगृहमा रहेको दुई वटा मध्य एक वटा युनिट (टर्वाइन जेनेरेटर)को परिक्षण सफल भएको र अर्को युनिटको शुक्रबार परिक्षण सकिने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताउनुभयो ।
“नेपाल विद्युत प्राधिकरण, परामर्शदाता, प्रर्वद्धक र ठेकेदारका प्राविधिकहरुको संयुक्त टोली परिक्षण कार्यमा खटिएको छ,” उहाँले भन्नुभयो “परिक्षण सफल भएपछि व्यवसायिक विद्युत उत्पादन सुरु गर्छौ ।”


सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०÷५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डसेण्डर), रेलेखर्कमा विद्युतगृह निर्माण र बाँध देखि विद्युतगृह सम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ ।
रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रशारण लाइन निर्माण भएको छ । सुरुङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो । पाँच सय पाँच मिटर माथिबाट विद्युतगृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०७९ मा निर्माण शुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पु¥याउँदा कार्यतालिका प्रभावित बनेका हो । अस्थायी बाँध बनाएर डिसेण्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जनसम्पर्क अधिकृत पाण्डेले बताउनुभयो ।
रु. एक अर्ब २० करोड लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँहुदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको छ ।
