अन्नपूर्ण आरोहणको हिरक जयन्ती मनाउन मौरिसका छोरानाती नेपाल आए

Gandaki Ghumau

पोखरा, । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर हीरकजयन्ती मनाइने भएको छ । पदयात्रा, आरोहीको सालिक अनावरण, दौड प्रतियोगिता गरेर सफल आरोहणको ७५ औं वर्ष मनाइने आयोजक नेपाल पर्यटन बोर्डले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङ–अन्नपूर्ण उत्तर आधार शिविर–नारच्याङ पदमार्गमा जेठ १७ देखि २० सम्म पदयात्रा हुने बोर्ड पोखरा प्रमुख मणिराज लामिछानेले बताउनुभयो । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग, लुइस लाचेनले अक्सिजनबिनै सन् १९५० जुन ३ मा ८ हजार ९१ मिटर उचाइको हिमाल सफल आरोहण गरेका थिए ।

पदयात्रामा सहभागी हुन हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन, नाति सिमोन ज्याक्युस, अनुसन्धानकर्ता, पर्वतारोहीसहित १४ सदस्यीय टोली काठमाडौं आइसकेको कार्यक्रम सहआयोजक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो । उक्त टोली जेठ १६ मा पोखरा आइपुग्नेछ ।

Shreekrishna

पदयात्रा टोली पहिलो दिन जेठ १७ मा नारच्याङ, हुमखोला हुँदै सम्धिखर्क पुग्नेछ । दोस्रो दिन जेठ १८ मा सम्धिखर्कबाट भुस्केट मेला हुँदै उत्तर अन्नपूर्ण आधार शिविरमा बास बस्नेछ । तेस्रो दिन भुस्केटमा सांगीतिक कार्यक्रम, हर्जोगको योगदानबारे चर्चासहित कार्यक्रम हुनेछ ।

Gunasthariya Shiksya

उक्त दिन टोली हुम खोलामा बास बस्नेछ । भोलिपल्ट जुन ३ अर्थात् जेठ २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गर्ने अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

पदयात्रामा गएको टोली जेठ २० मा घोरेपानी आएर बास बस्नेछ । घोरेपानी–पुनहिलबाट सूर्योदय दृश्यावलोकन गरेपछि टोली जेठ २१ पोखरा फर्कनेछ । जेठ २२ मा हर्जोगले आरोहरणको क्रममा प्रयोग गरेका सामग्री छोरा म्याथिएसले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण गर्नेछन ।

हीरक जयन्तीमा सहभागी हुन विभिन्न १२ देशका राजदूतलाई निम्तो गरिएको नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख मणि लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा आउने राजदूतहरू नारच्याङसम्म मात्र पुग्नेछन ।

हीरक जयन्तीकै अवसरमा अन्नपूर्ण आधार शिविरबाट नारच्याङ गाउँसम्म ३० किलोमिटर दुरीको दौड हुनेछ । उक्त दौडमा म्याग्दीकै धावकमात्र सहभागी हुन पाउनेछन । दौड र पदयात्रामा सहभागी हुनेसहित हीरक जयन्ती मनाउन करिब एक सय जनाको टोली आधार शिविर पुग्नेछ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...