
बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिकाको न्यायिक समितिमा एक सय १८ वटा उजुरी परेका छन् ।
वि.स. २०७४ मा स्थापना भएको समितिमा हालसम्म एक सय १८ वटा उजुरी दर्ता भएको हो । गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी न्यायिक समितिका संयोजक प्रेमकुमारी क्षेत्रीले हाल छ वटा मुद्दा मात्र प्रक्रीयामा रहेको बताउनुभयो ।
पिडक र पिडित पक्षलाई छलफलको माध्यमबाट मेलमिलाप गरेर मुद्दा फस्यौट गरेका छौ,” उहाँले भन्नुभयो “न्यायिक समिति स्थापना भएपछि ग्रामिण क्षेत्रका नागरिकले कम खर्चमा छिटो न्याय पाउनुका साथै मेलमिलापको वातावरण बनेको छ ।”


चालु आर्थिक वर्ष २०८१÷०८२ मा अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका चार वटा सहित २६ वटा उजुरी दर्ता भएकोमा १७ वटाको मेलमिलाप गराएको, एक वटा तामेलीमा रहेको, दुई वटा रिफर गरिएको र छ वटा फस्यौट हुन बाँकी छन् ।
आर्थिक वर्ष २०७९÷०८० मा १३ वटा उजुरी परेकोमा सात वटा र २०८०÷०८१ मा ३१ वटा उजुरी परेकोमा ३७ वटा फस्यौट भएको समितिको सचिवालयका कर्मचारी ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो । सबैभन्दा बढी घरजग्गाको साँधसिमाना र टप्केनी सम्बन्धी बिवादका मुद्दाहरु समितिमा आएका छन् ।
सार्वजनिक जग्गा बिवाद, वेइज्यति, पानीघाट उपभोग, ज्यालामजदुरी, बाटो प्रयोग गर्न नदिएको, बालबालिका सम्बन्धी बिवादका उजुरी आउने गरेका छन् । उजुरीको प्रकृति हेरेर सम्बन्धित पक्षलाई कार्यालयमा बोलाएर छलफल गराउनुका साथै स्थलगत अध्ययन तथा अभिलेखहरुको आधारमा बिवाद निरुपण गर्ने गरिएको छ ।
न्यायिक समिति अन्तर्गत पाँच वटा वडामा २० जनालाई तालिम दिएर मेलमिलापकर्ता तयार पारिएको छ । समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन वडामा मेलमिलाप केन्द्र स्थापना गर्न लागिएको उपाध्यक्ष क्षेत्रीले बताउनुभयो ।
