
बेनी, । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा एकै दिन ३२ जनाले सफल आरोहण गरेका छन् । यो यामको अन्नपूर्ण आरोहण सोमबार पहिलो पटक भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।
सेभेन समिट ट्रेकबाट नौ जना, पायनियर एडभेन्चरबाट आठ जना, आठके एक्सपिडेसन बाट नौ जना, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुई जनाले अन्नपूर्णको सफल आरोहण गरेको नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो ।
अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोहीहरु अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उहाँले बताउनुभयो । सेभेन समिट ट्रेकका सञ्चालक थानेश्वर गुरागाइँले आफ्नो कम्पनीका नौ जनाले अन्नपूर्णको सफल आरोहण गरी आधार शिविर फर्किएको जानकारी दिनुभयो ।

अन्नपूर्णको सफल आरोहण गरेपछि मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । ‘‘सुख्खा अवस्था, धेरै दरारहरू, क्याम्प दुई र क्याम्प तीनबिचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो । अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे । अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिन,’’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
आरोहणको सिजन सुरु भएसँगै चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरमा यतिखेर आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ । बसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए ।

गत वर्षभन्दा यसपटक आधर शिविरमा आरोही र पर्यटकको चहलपहल निकै बढेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा नारच्याङका पर्यटनकर्मी तेज गुरुङले बताउनुभयो । ‘‘मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेका आरोहीहरुको टोलीले टेन्ट टाँगेर बसेका छन्,” उहाँले भन्नुभयो “आरोहीहरु पुग्न थालेपछि आधार शिविर गाउँ जस्तै बनेको छ ।”
पर्यटकीय सिजन सुरु भएसँगै आधार शिविर पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धी भएको उहाँले बताउनुभयो । आरोहीहरु र सहयोगी गरेर आधार शिविरमा अहिले करिब तीन सयको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो । आरोही र पर्यटक आउन थालेपछि नारच्याङका स्थानीय मजदुरहरुले रोजगारी पाउन थालेको उहाँले बताउनुभयो । धेरै आरोहीहरु यसपटक पैदल हिँडेर आधार शिविर पुगेपछि पदमार्गमा खुलेका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु उत्साहित भएका छन् ।
हिमाल आरोहणको याम सुरु भएलगत्तै पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर आरोहणको तयारी थालेका हुन ।
अन्नपूर्णको अहिलेसम्म पाँचसय २० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्नसकिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।
