अमेरिकाबाट फर्केिएका सुशील केरा खेतीमा

Gandaki Ghumau

म्याग्दी- मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्केका एक युवा व्यावसायिक केराखेतीमा संलग्न भएका छन्। हाल बागलुङमा बसोबास गर्दै काठमाडौँमा व्यवसाय सञ्चालन गर्ने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गाको सदुपयोग गर्दै केराखेती सुरु गरेका हुन्।

मंगला भेञ्चर कम्पनीमार्फत उनले बाँझिन थालेको खेतीयोग्य जमिनलाई पुनः उपयोग गर्न र कृषि उद्यमबाट गाउँघरमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्ने प्रयास गरेका छन्। ‘हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए,’ खड्काले भने,‘तर अहिले जब मेरो केराखेती सफल भएको छ र अरूले पनि यसबाट सिको गर्न थालेका छन्,मलाई खुसी लागेको छ।’

अमेरिकाको भेण्डरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नातकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौँमा श्रीमती सिलसिलासँग मिलेर नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गरेका छन्। खड्काको सातबिसेमा एक सय रोपनी पुर्ख्यौली जग्गा छ।

Shreekrishna
default
Gunasthariya Shiksya

सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए। सातवटा २० रुपैयाँमा किनेको जग्गा भएकाले यस ठाउँको नाम ‘सातबिसे’ राखिएको किंवदन्ती छ। सिँचाइ सुविधा र उर्वरायुक्त जमिनका कारण खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए। पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव र लागतमा वृद्धि हुँदा सातबिसेमा खेतीयोग्य जमिन बाँझिन थालेका थिए। सन् २००५ मा अध्ययनका लागि अमेरिका गएका सुशील सन् २०१५ मा नेपाल फर्किएका थिए।

कोरोना महामारीको समयमा बन्दाबन्दीका दौरान उनलाई पुर्ख्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच उत्पन्न भएको थियो। तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट व्यवसाय सुरु गरेका खड्काले अहिले एक रोपनीमा नयाँ केराका बिरुवा रोपेर विस्तार गरेका छन्। केरा बगैँचाको रेखदेखमा सुशीललाई आमा मनकुमारीले सहयोग गरेकी छन्। केरा बेचेर पछिल्लो एक वर्षमा एक लाख रुपैयाँ आम्दानी गरेका खड्काले ड्रागन फ्रुटको खेती गर्ने तयारी पनि गरेका छन्।

आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उनको योजना छ। ‘देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो,’ खड्काले भने,‘जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो।’

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...