बेनी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योतीमण्डल माविका एक सय विद्यार्थीहरुलाई मङगलबार शैक्षिक सामग्री वितरण गरिएको छ ।
दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमल पुर्जाको पहलमा शिक्षक र विद्यार्थीहरुलाई कापी, कलम र पेन्सील वितरण गर्नुका साथै कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको छात्रावासका लागि खाद्यान्न सहयोग गरिएको हो । यसैगरी एक÷एक थान भलिबल, बास्केटबल र फुटबल उपलब्ध गराइएको छ ।


पुर्जा, सहयोगदाता नाईजर उडल र रिवेका उडलले शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण गर्नुभएको ज्योतिमण्डल माविका प्रअ मेखबहादुर खत्रीले बताउनुभयो । कार्यक्रममा बाँसखर्कका ९४ वर्षीय लालबहादुर पुन, महेन्द्र पुन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधीकारी, शिक्षकहरुको उपस्थिति थियो ।
पुर्जा र बेलायती नागरिक जेम्स रोवन्सले गो फण्ड मार्फत सहयोग जुटाएर खरिद गरेको शैक्षिक सामग्री यसअघि सोमबार अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेका पाँच र वडा नं–४ गाडपारको नारच्याङ आधारभूतका चार सय जना विद्यार्थीलाई वितरण गर्नुभएको थियो ।
नारच्याङ आधारभूतलाई व्यक्तिगत रुपमा रु. ५० हजार सहयोग गरेका पुर्जाले बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयलाई पनि सहयोग गर्नुहुने कार्यक्रम छ ।
बेलायती सेनाका सेवानिवृत्त गोर्खा सैनिक पुर्जाले यसअघि आफुले अध्ययन गरेको ज्ञानप्रकाश माविलाई रु. दुई लाख २१ हजार एक सय ८०, अध्यापन गराएको काभ्रेको सरस्वति आधारभूत विद्यालयलाई रु. एक लाख, ज्योती आधारभूत विद्यालयलाई रु. ५० हजार र ठाडाको आमा समूहलाई रु. ५० हजार व्यक्तिगत रुपमा सहयोग गर्नुभएको थियो ।
दुवाडी र ठाडाको विद्यालयलाई आगामी वर्ष सहयोग गर्ने उहाँले बताउनुभयो । यसपाली गाडपार र गलेश्वरको विद्यालयलाई आर्थिक सहयोग गर्ने उहाँले बताउनुभयो ।
