जलजलामा अन्तरजातीय बिवाह गर्नेलाई सम्मान

Gandaki Ghumau

बेनी । पर्वतको जलजला गाउँपालिकाले गैर दलित र दलितको बिचमा विवाह गरेका जोडीहरूलाई सम्मान गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को लक्षित वर्गतर्फको स्वीकृत वार्षिक बजेट एवं कार्यक्रम अनुसार सम्मान गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार समाजमा रहेको जातीय विभेद, हिंसा, कुरीति, कु–संस्कारको अन्त्य गरी समुन्नत, समावेशी एवं छुवाछुतमुक्त गाउँपालिका बनाउने प्रयासका लागि अन्तरजातीय विवाह अन्तर्गत दलित समुदायसँग गैर दलितले विवाह गरेका भएमा उनीहरूलाई सम्मान गर्न लागिएको हो ।

गाउँपालिकाले समाजमा समानता, मेलमिलाप र आपसी सद्भावलाई प्रवद्र्धक गर्न महत्त्वपूर्ण कदम चालेको अध्यक्ष आचार्यको भनाइ छ । समाजमा व्याप्त विभाजनको सोचलाई तोड्दै, प्रेम, विश्वास र आपसी समझदारीका आधारमा विवाह गर्ने जोडीहरूलाई सम्मान अभियानको एउटा हिस्सा भएको उहाँले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

‘हाम्रो समाज विविधतामा एकताले भरिपूर्ण छ । जातीय भेदभाव हटाउँदै सबै नागरिकलाई समान अवसर र सम्मान दिने लक्ष्यले हामी अघि बढिरहेका छौँ । दलित र गैर–दलितबीचको विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र नभएर सामाजिक एकताको उदाहरण र समतामूलक समाज निर्माणको उदाहरण पनि हो,’ उहाँले भन्नुभयो , ‘जातीय विभाजनका कारण कोही पनि सामाजिक, आर्थिक वा भावनात्मक रूपमा पछाडि नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । यस्तो कदमले सामाजिक चेतना वृद्धि गर्न, परम्परागत सोचमा परिवर्तन ल्याउन, र सामाजिक सद्भाव बढाउन ठुलो मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’

देशमा संघीयता लागू भएको २०७४ सालयता हालसम्म विवाह गरेका गाउँपालिकाभित्रका स्थायी नागरिकलाई सम्मान गर्नको लागि त्यस्ता दम्पतिहरुबाट फागुन १५ गतेभित्रमा निवेदन माग गरिएको छ ।

सम्मानका लागि पति र पत्नी दुवैको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसराइ गरी जलजला गाउँपालिकाभित्र बसोबास गरेको भए बसाई सराई प्रमाणपत्रको प्रतिलिपि बुझाएर विवाहित जोडीहरूले सम्मानका लागि प्रस्ताव पेस गर्नुपर्ने भनिएको छ ।

गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख बिन्दु शर्माले त्यसरी विवाह गरेका जोडीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिने बताउँदै शुक्रवार एउटा निवेदन आएको बताउनुभयो । यो कार्यक्रम सञ्चालन गर्नको लागि चालु आर्थिक वर्षमा रु. एक लाख ५० हजार बजेट छुट्टाइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...