बेनी, पालिका स्तरीय पुरुष भलिबलको उपाधी बेनी नगरपालिकाले जितेको छ । महिलातर्फ अन्नपूर्ण गाउँपालिका बिजयी भएको छ ।
बेनीमा मंगलबार भएको फाइनलमा मालिका गाउँपालिकालाई एकका विरुद्ध तीन सेटले पछि पार्दै बेनी बिजयी भएको हो । आठौ म्याग्दी महोत्सव अन्तर्गत म्याग्दी उद्योग वाणिज्य संघ, खेलकुद विकास समिति म्याग्दी र जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा माघ ३ गतेदेखि प्रतियोगिता शुरु भएको थियो ।
बेनीले पहिलो, दोस्रो र चौथो सेट २५–१७, ३०–२८,२५–१६ र मालिकाले तेस्रो सेट २५–१६ को अन्तरमा जितेको थियो । खुल्ला महिला भलिबलमा मङ्गला गाउँपालिका–२ को मालिका युवा क्लव सहश्रधारालाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै अन्नपूर्ण बिजयी भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।


पहिलो, तेस्रो र चौथो सेट २५–२२, २५–२० र २५–१६ को अन्तरमा जितेको अन्नपूर्ण दोस्रो सेटमा २५–२२ को अन्तरमा पराजित भएको थियो । पुरुषतर्फ बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद एक लाख ५१ हजार एक सय र ७५ हजार एक सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
सेमि फाइनलबाट बाहिरिएका मङ्गला र रघुगङ्गा गाउँपालिकाले २१ हजार एक सय पाएका छन् । महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ७५ हजार एक सय र ४० हजार एक सय रुपैयाँ पुुरस्कार पाएका प्रतियोगिता संयोजक तारानाथ रेग्मीले बताए । पुरुषतर्फ सात र महिलातर्फ छ वटा टिमले सहभागिता जनाएका थिए ।
आठौ म्याग्दी महोत्सव अन्तर्गत पुरुष, महिला भलिबल प्रतियोगिता र यु –२० वडा स्तरीय पुरुष बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो । बास्केटबलमा बेनी नगरपालिका–१० पात्लेखेत बिजेता र अन्नपूर्ण गाउँपालिका–१ दोवा उपबिजेता भएका जिल्ला बास्केटबल संघका अध्यक्ष एकिन पुर्जाले बताए । बिजेता र उपबिजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र सहित क्रमश ५५ हजार एक सय र ३१ हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
