काठमाडौ, । म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी रघुगङ्गा हाइड्रोपावरको आठौ वार्षिक साधारणसभा सोमबार काठमाडौमा सम्पन्न भएको छ ।
४० मेगावाट क्षमताको राहुघाटको प्रर्वद्धक रघुगङ्गा हाइड्रोपावर नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हो । कम्पनीका अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्रीराम खड्काले गर्नुभएको थियो ।
नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठ, सञ्चालक तथा निर्देशक अच्युत बाबु घिमिरे, प्रबन्ध सञ्चालक गणेश केसी, नेपाल विद्युत प्राधिकरणका निर्देशक गणेश प्रसाद लुइलेट, महालेखा परिक्षकको कार्यालयका लेखा परिक्षक रजनीराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाले कम्पनीको गत आर्थिक वर्षको प्रगति, लेखा परिक्षण प्रतिवेदन छलफल गरि पारित गरेको छ । राहुघाट जलविद्युत आयोजनाको आर्थिक वर्ष २०८०÷०८१ सम्म ७७ दशमलब १६ प्रतिशत भौतिक प्रगति भएको छ ।
मुख्य सुरुङको ब्रेक थ्रु गरि लाइनिङ, पेनस्टक पाइपलाईन जडान शुरु हुनु, सर्ज साफ्ट फिनिसिङ हुनु, ब्यारेजको संरचना निर्माण अन्तिम चरणमा पुग्नु, विद्युतगृहमा उपकरण जडान शुरु हुनु, टेलरेस डग निर्माण सकिनु राहुघाट जलविद्युत आयोजना निर्माणमा पछिल्लो एक वर्षमा भएका प्रमुख उपलब्धीहरु हुन् ।
बाँध, सुरुङ, विद्युतगृह, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फको कामले तिब्रता पाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माणको काम ९८ प्रतिशत पुरा भएको छ । अण्डर सुुलुुसबाट खोला बगाइएको छ । ११९.७ मिटर लामो, ३१ मिटर चौडाई र १६ मिटर अग्लो डिसेन्डर (पानी थिग्राउने पोखरी) निर्माणको काम ४७ प्रतिशत सकिएको छ । पावर इन्टेक निर्माणको काम ६० प्रतिशत पुरा भएको छ ।
यस आयोजनाको छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङको वि.स. २०८१ साउन १५ गते ब्रेक थ्रु भएको थियो । अडिट १ बाट बाँधतर्फ जाने ७५ मिटर लामो सुरुङ जोडिएको छ । बाँधको अडिट १, अधेरीखोलाको अडिट २, पिप्लेको अडिट ३ र तिल्केनीचौरको अडिट नम्बर ४ बाट बाट यस वृत्तचित्र तयार पार्दाका दिनसम्म दुई हजार दुई सय ४४ मिटर लाइनिङ (ढलान र पलास्टर) सकिएको छ ।
पिप्लेमा निर्माण भएको ६१ मिटर गहिरो सर्ज साफ्टलाई फिनिसिङ गरिएको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युत गृहमा खसाल्ने एक सय ९६ मिटर भर्टिकल प्रेसर साफ्ट (ठाडो सुरुङ)लाई फिनिसिङ गर्ने काम भैरहेको छ । विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर वटम प्रेसर साफ्ट र सर्ज साफ्ट देखि पावर हाउसतर्फ पाँच सय ५९ मिटर टप पेनस्टक सुरुङको ब्रेक थ्रु गरेर दुई सय ९० मिटर पेनस्टक पाइप जडान भएको छ ।
बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका वडा न. ३ को तिल्केनीचौरमा बिद्यूतगृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । विद्युतगृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने एक सय २८ मिटर लामो टेलरेस डग निर्माण सकिएको छ । विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइन, जेनेरेटरका पाट्सहरु जडान गर्ने काम थालिएको छ ।
विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृहका उपकरण आयात र जडानलाई सँगसँगै अघि बढाएको छ । आगामी २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य सहित राहुघाट जलविद्युत आयोजना निर्माणलाई तिब्र पारिएको छ ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण भइरहेको छ ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार (आइभिआरसिएल) सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।
बि.स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरि बिद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । यस आयोजनाले ट्याङ्करबाट पानी हालेर पहुँच मार्गको सडकमा धुलोको समस्या समाधानको काम गरिरहेको छ । राहुघाट जलबिद्युत आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुलबाट प्रभावित क्षेत्रका बासिन्दाहरुलाई पनि सुबिधा पुगेको छ ।
पिप्लेमा कम्पनीको तथा परामर्शमदाताका कर्मचारीको लागि आवास तथा कार्यालय संचालनको लागि १५ वटा भवन निर्माण भइसकेको छ । राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रशारण लाइन पनि बनिसकेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत रघुगंगा गाउँपालिकासँग समन्वय गरेर शिक्षा, स्वास्थ्य र विकास निर्माण सम्बन्धी बिभिन्न कार्यक्रम गरेको छ । यस वर्ष आयोजनाको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नामको खेलमैदानमा प्याराफिट, स्टेज निर्माणमा सहयोग, स्वास्थ्य चौकी परिसरमा धारा र झिँमा नाली निर्माण भएको छ । मौवाफाँटको ज्ञानोदय र पिप्लेको रघुगंगा माविमा एक÷एक जना शिक्षकको लागि तलब सहयोग गरेको छ । पिप्लेको वडा कार्यालयमा सिसिटिभी क्यामेरा जडान भएको छ । सुरुङ खन्ने क्रममा घरहरु चर्किएको भन्ने जनगुनासोलाई अध्ययन गर्ने कार्य भइरहेको छ ।
सुरुङ खन्दा गरिने बिस्फोटनको कम्पनका कारण चर्किएका र पहुँचमार्गको पहिरोको जोखिममा परेका, क्षति भएका घरहरुको पहिचान गर्ने काम अन्तिम चरणमा पुगेको छ । बर्खायाममा बुग्लको पहिरो सक्रीय भएको र निर्माणाधिन बाँध नजिकै राहुघाटमा आएको बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काममा केही सिजन प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षपछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टि र बालुवा उत्खनन् गर्न पाइने फैसला गरेपछि नदीजन्य निर्माण सामग्रीको आपुर्ति सहज र निर्माणले गति लिने अपेक्षा गरिएको छ ।