बेनी–पोखरा सडकमा ट्याक्सीको लुट, नियमनकारी निकायको मौनता

Gandaki Ghumau

बेनी, ६ कात्तिक ः पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कको ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई ग १ ज ३३०३ नम्बरको ट्याक्सीका चालकले रु. चार हजार भाडा दिए मात्र चढाउने प्रतिक्रिया दिनुभयो ।

रघुगंगा–२ भगवतिकी सोनी थापा भण्डारीले आइतबार पोखरा जाने क्रममा ट्याक्सी चालकले रु. छ हजार भाडा मागेको गुनासो गर्नुभयो । “काउन्टरमा पालोका ट्याक्सीलेनै खुलेआमा तोकिएको भन्दा बढी भाडा नदिए नजाने भनेर धम्काए,” शर्माले भन्नुभयो “काउन्टरमा ट्याक्सी नराख्ने र यात्रुलाई बाध्य बनाएर बढी भाडा तिर्न लगाउँदा यात्रुहरु मर्कामा परेका छन् ।”
बेनी–पोखरा सडकमा सञ्चालन हुने ट्याक्सीका चालकले चाडपर्वको मौका छोपेर गर्ने मनोमानीका कारण प्रताडित हुने यात्रुहरुको प्रतिनिधी पात्र मात्र हुन् शर्मा र भण्डारी । सरकारले बेनी–पोखरा सडकमा ट्याक्सीमा प्रतियात्रु रु. आठ सय ५० का दरले भाडादर निर्धारण गरेको छ । चार जना क्षमताको ट्याक्सी रिजर्भ गर्दा रु. तीन हजार चार सय भाडा तिर्नुपर्छ ।
केही समययता ट्याक्सीले रिजर्भ गर्दा रु. चार हजार देखि छ हजार र रिजर्भ नहुँदा प्रतियात्रु रु. एक हजार दुई सय ५० देखि रु. दुई हजार भाडा असुल्ने गरेको बेनीका कृष्ण खत्रीले गुनासो गर्नुभयो । दशै तिहारको समयमा यात्रुको चाप र सवारी साधनको अभावको मौका छोपेर बेनी–पोखरा सडकमा जिप र ट्याक्सीले बढी भाडा असुल गरेका उहाँले बताउनुभयो ।

८३ किलोमिटर दुरीको बेनी–पोखरा सडकमा सेवा दिने दुई सय बढी ट्याक्सी छन् । उपचारका लागि अस्पताल, सरकारी कार्यालय, व्यक्तिगत र ब्यवसायिक कामले पोखरा जान आउनका लागि म्याग्दीबासीले ट्याक्सी प्रयोग गर्छन् । कास्की पछि गण्डकीमा धेरै ट्याक्सी प्रयोग हुने जिल्लामा म्याग्दी पर्छ । मुस्ताङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थल घुम्न आउने र फर्कने यात्रुहरुको चाप पनि बढेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेर बढी भाडा असुल गर्ने, यात्रुलाई दुख दिने र सवारी साधन नपाएर अलपत्र परेका सर्वसाधारणलाई सघाएको बताउनुभयो । तोकिएको भन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही पनि भइरहेको केसीले बताउनुभयो । बढी भाडा असुल गर्ने सवारी साधनलाई रु. पाँच सय देखि एक हजार पाँच सय सम्म जरिवाना तिराउने व्यवस्था छ ।

बेनी–पोखरा सडकमा ट्याक्सी सेवा दिदै आएको बेनी यातायात प्रा.ली.का सञ्चालक भोजबहादुर थापा (कुमार)ले तोकिएको भन्दा बढी भाडा नलिन व्यवसायीहरुलाई सचेत बनाएको र त्यस्तो पाइए कारबाहीका लागि प्रहरीलाई सघाउने प्रतिवद्धता जनाउनुभयो ।

गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले चाडपर्वको समयमा बजार अनुगमन, यातायात भाडादरमा हुने ठगी र कालोबजारी नियन्त्रणका लागि सांसद गणेश गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उपसमितिका सदस्य रहेका म्याग्दीबाट निर्वाचित प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले चाडपर्वको समयमा सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु चढाउँदा दुर्घटनाको जोखिमका साथै तोकिएको भन्दा बढी भाडा असुल हुँदा यात्रुहरु मर्कामा परेको पाइएको बताउनुभयो । यातायात ब्यवसायी, प्रशासन र प्रहरीलाई गुनासोको बारेमा जानकारी गराएर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...