दशैका लागि मुस्ताङमा आठ हजार भेडाच्याङग्रा बिक्री

Gandaki Ghumau

जोमसोम ः यसपालीको दशै पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङग्रा बाहिरिएका छन् ।

मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख पशु चिकित्सक लालमणी अर्यालले उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपाली भेडाच्याङग्राको बिक्री बढेको बताउनुभयो । “घटस्थापनाको दिनदेखि शुरु भएको स्वास्थ्य परिक्षण गरेर च्याङग्रा बजार पठाउने काम मंगलबार सकिएको छ,” उहाँले भन्नुभयो, “कृषकले तौल अनुसार प्रतिगोटा रु. २८ हजार देखि ३७ हजारका दरले च्याङग्रा बिक्री गरेका छन् ।”

Shreekrishna

सरदर मूल्य अनुसार मुस्ताङ, डोल्पा र मुगुका कृषकले रु. २६ करोड ४० लाख मूल्य बराबरको भेडाच्याङग्रा बिक्री गरेका केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । पाँच सय भेडा (च्यालु) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौलगायतका सहरमा मुस्ताङी भेडाच्याङग्रा बिक्री गर्न लगेका हुन् ।

Gunasthariya Shiksya

जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ ।

यसपाली गत वर्षको तुलनामा मुल्य सस्तीएकाले च्याङग्राको बिक्री बढेको ब्यापारी टसी छेवाङ गुरुङले बताउनुभयो । “गत वर्ष खोरमै प्रतिगोटा रु. ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका थियौ, यसपाली ३० देखि ३३ हजारमा किसानहरुबाट खरिद गरेर ल्याएका छौ,” उहाँले भन्नुभयो “ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटेको हो ।”

गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा रु. ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगी हुँदा बिक्री नभएर ब्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताउनुभयो ।

वि.स. २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...