मेरो जनै नभएको कारण एमाले पार्टी छाडें

khali

चन्द्रबहादुर पाइजा
म्याग्दी जिल्ला साबिक पुलाचौर गा.वि.स हाल बेनी नगरपालिका वडा नं. ५ मा बस्ने म चन्द्रबहादुर पाईजा । भूतपूर्व गाविस अध्यक्ष । पूर्व एमाले ।
हुन त म हाल नेकपा माओवादी केन्द्रमा आबद्ध भइसकें । पार्टीप्रतिको वितृष्णाको कारण के थियो ? जीन्दगी बिताएको पार्टीप्रति आस्था निष्ठा कसरी समाप्त हुँदै गयो भन्ने बारेमा आफ्नो गुनासो सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको हुनाले आजसम्म मनभित्र दबाएर राखेको मर्मको कथा सुनाउन मन लागेर आफ्ना मनका भावनाहरु पोखेको छु ।
म पुलाचौरको बासिन्दा । पुलाचौरका एमाले सम्बद्ध कार्यकर्ता नेताहरुको कारणले कैयौं मानिसहरुले व्यर्थमा दुःख कष्ट व्यहोर्नु परेको छ, कतिको जागिरमा धक्का लागेको छ, कतिको इज्जतमा दाग लाग्ने अवस्था सिर्जना भएको छ भन्ने कुरा लुकाउन चाहेर पनि लुक्दैन । म सोझो मान्छे । बुढो गोरुझै एकोहोरो पार्टीमा जोतिएँ । घरबार जहान परिवारको बारेमा उति चिन्ता वास्ता गरिएन । यतिखेर मेरो बेहाल भएको छ । त्यसको कारणको पछाडि तिनीहरु नै छैनन् कतै भन्ने शंका उत्पन्न भएको छ । मैले भोगेको प्रताडना र उनीहरुले मप्रति गरेका व्यवहारको बारेमा सबैलाई जानकारी होस भनेर कथा सुनाउन चाहन्छु ।
एमाले भनेको जातभेद विरोधी पार्टी हो, बर्गविहीन समाज निर्माणको लागि लड्ने पार्टी हो भन्ने बुझाईले त्यो पार्टीमा लागियो । आम गरीब शोषित जनतालाई शोषण उत्पीडनबाट मुक्त गर्ने छ भन्ने विश्वासले पञ्चायतकाल देखिनै सामन्तवादको बर्बर आतङ्कसँग जुध्ने कोशिश गरियो । आफ्ना निजी स्वार्थहरु त्यागेर समाजको मुक्तिको लागि गौरवशाली भनिने एमाले पार्टीमा लागियो । दमन उत्पीडन सहियो । जनताको पक्षमा लड्ने पार्टी भनेर लागियो । समाज रुपान्तरण गर्ने पार्टी भनेर लागियो । न्यायपूर्ण समाज निर्माण गर्ने पार्टी भनेर लागियो । तर वास्तविकता त्यस्तो पटक्कै रहेनछ । समाज परिवर्तनको गन्ध समेत एमालेले रुचाउँदो रहेनछ ।
कमाइ गरेर परिवारको भविष्य निर्माण गर्ने युवा उमेरमै पार्टीको निर्देशनमा समाज सेवा तिर लागियो । पञ्चायतकालमा बहुलवादीको बिल्ला भिराएर पञ्चहरुले दुःख दिनुसम्म दिए । २०४६ सालको परिवर्तनपछि पञ्चायतकालमा सँगसँगै लडेका साथीहरु काँगे्रस पसे । मेरो गाउँ टोलमा एमालेको बिउ म मात्रै थिएँ । २०४८ सालको निर्वाचनमा खटेर लागियो । म्याग्दीका दुबै क्षेत्रबाट एमालेले जित्यो । जिताइयो । केन्द«मा भने कांग्रेसले बहृुमत पायो । कांग्रेसको सरकार बनेपछि भएको २०४९ सालको स्थानिय निर्वाचनमा पुलाचौर गाविसको एउटा वडा अध्यक्ष बाहेक सबै कांग्रेसको पक्षमा गयो । २०५४ सालको स्थानिय निर्वाचनसम्म आइपुग्दा पनि एमाले पार्टीमा प्रतिनिधि बनाउन लायक मानिसहरुको खाँचो थियो । पुलामा पार्टीका सिनिएर कार्यकर्ताहरु सबैजसो जागिरे थिए । जागिर माया मारेर समाजसेवामा उत्रने मानिसको खाँचो थियो । स्वभावतः जागिर सागिरतिर नलागेका म अघिसर्नुपर्ने अवस्था थियो ।
पार्टीलाई खाँचो पर्छ भने पछिसर्नु हुदैन भन्ने मानसिकता मैले बनाएको थिएँ । उसो त लड्ने हक मेरै थियो भन्दा फरक पर्दैनथ्यो । इन्चार्जबाट पनि त्यस्तै संकेत भएको थियो । तर पछि पुला भनेको क्षेत्रीबाहुनको बसोबास रहेको ठाउँ हो । त्यही समुदायबाट उमेदबार खोज्नुपर्छ भन्ने कुरा आयो । मैले पनि ठिकै छ त नि जनैवाला उमेदरबार नै खोजौं भनेर स्वीकृति जनाएँ । छलफल चल्दै जाँदा चुनाव हारिन्छ भन्ने लागेपछि कुनै जनैवाला मान्छे अघि सरेन । उमेदबार नपाएपछि मलाई पार्टीको बैठकमा बोलाइयो । उठ्ने मन त थिएन । चुनाव लड्न पनि जातको खोजी गर्ने कुराले मन दुःखेको थियो । चित्तमा चोट लागेको थियो तैपनि ससानोका कुरामा चित्त दुःखाएर हुन्न भन्न हुदैन भन्यो मेरो अन्तर्मनले । अनि हुन्छ भनेर घरतिर लागेँ ।
म घरतिर लागेपछि उपाध्यक्षसहित २४ सिट लिने गरी एमालेले काँगे्रससँग सम्झौता गरेछ । मलाई जानकारी थिएन । भोलिपल्ट मनोनयन गर्ने बेलामा नेपाली काँग्रेसले पुरै सिटमा उमेदबारी दर्ता गरिदियो । काँग्रेसले अघिल्लो दिनको सहमति तोडेपछि मनोनयन दर्ता गर्ने समयसीमासम्म एमालेले जनैवाला उमेदबार पाउनै सकेन । काँग्रेससँग मिलेर लड्न उपाध्यक्षको उमेदबारी पाएका मित्रलाई अध्यक्ष लड्नका लागि फकाइयो । उनी मानेनन् । समय भैदिएका भए अझै पनि अर्को उमेदबार खोजिन्थ्यो होला तर समय ढिम्किएको हुनाले अन्तिम क्षणमा मेरो नेतृत्वमा गाविसको निर्वाचनमा मनोनयन दर्ता गरियो ।
मेरो विपक्षमा एमाले र नेपाली कांग्रेस बीच सहमति भएको कुरा थाहा पाएको भए म पनि चुनाव लड्ने थिइन । थाहा नपाएकैले उठेँ । उठ्न राजी भएँ । नेताहरुले उमेदबार जनैवाला खोजेका भए पनि मतदाताले भोट दिन जनै खोजेनन् । काँग्रेससँग रिसाएकोले भोट हाले कि आफ्नो पार्टीको उमेदबार भनेर भोट हाले कुन्नी, एमालेका मतदाताले मत दिए । निर्वाचन जितियो । मेरै सामुन्नेमा पाइजालाई होइन पार्टीलाई भोट हालियो भनेर एमालेलेका कार्यकर्ताहरुले भन्न लाज मानेनन् । उनीहरुको त्यो छुद्रताले चित्त दुख्ने नै भो ।
समाज सेवामा रुचि थियो । काँधमा जिम्मेबारी आएपछि गाउँमा गर्नुपर्ने कामहरुको प्राथमिकता खुट्ट्याइयो । सर्वप्रथम सडक र बिजुली गाउँमा पु¥याउनुपर्छ भनेर लागियो । असल कामको विरोध एमालेकै गाउँस्तरका कार्यकर्ताबाट हुन थाल्यो । गाउँ कमिटी नै विपक्षमा उभियो । त्यस विषयमा जिल्ला र केन्द्रिय कमिटीलाई जानकारी गराएर गाउँ कमिटीलाई कार्यवाहीको लागि निवेदन पनि गरियो । तर कार्यवाही भएन ।
त्यतिखेरै मेरो छोरो सख्त बिरामी भो । मुटुको अप्रेसनका लागि काठमाडौं लानुपर्ने भयो । उपचार खर्चले टाउकोमा ऋणसापटको ठूलै थैली बोकायो । कसरी ऋण सापट तिर्ने भन्ने विषयमा सोचविचार सरसल्लाह गर्दा ढिकुरी जमाउनु उपयुक्त हुने देखियो । सरसहयोग गरिदिनका लागि पार्टीका अगुवा साथीहरुलाई अनुरोध गरेँ । सहयोग गर्नका लागि भनसुन गरिदिन विन्ति चढाएँ । कसैबाट सहयोग मिलेन । कसैले वास्ता गरेन । जिल्लास्तरका तीनजना साथीहरुले मात्र सहयोग गरे । सहयोग गर्ने कुरामा अरुलाई सहमत गराइदिने पहल भएन । यतिखेर लाग्दैछ त्यसको कारण पनि मेरो काँधमा जनै नहुनु पो थियो कि ?
गाविस अध्यक्षको पदावधि रहेसम्म इमान्दारीपूर्वक काम गरियो । लप्पनछप्पन गरिएन । तेरो मेरो भनिएन । कसैले दोष खोट लगाउने ठाउँ राखेको छैन जस्तो लागेको थियो । पदावधी सकिदानसकिदै अख्तियारको तारेख खेप्नु पर्ने बनाइयो ।
२०५५–२०५६ सालको कुरो हो । एमालेकै पार्टी सदस्यको घरमा गाउँका पाँचसात जना अल्लारे केटाहरुले बिठ्याईं गरेछन् । कुनै विशेष चाडको लागि भनेर बनाएका सेल रोटी अनुमतिविना खाइदिएछन् । घरको धुरीमा राखिएको फर्सी निकालेर खाइदिएछन् । फर्सी पोल्नका लागि पशुका लागि हिँउदे चारा भनेर राखिएको मकैका डाँठहरु निकालेर आगो फुकेछन् । केरा पनि काटेर लगिदिएछन् । त्यसमा मेरो छोरा पनि सामेल रहेछ । ठूलै होहल्ला फैलियो ।
भोलिपल्ट बिहान क कसको के हानिनोक्सानि भएको रहेछ ? अल्लारे केटाहरुले गल्ती गरेछन् । ठूलो खति नोक्सानी भएको रहेछ भने क्षतिपूर्ति दिनुपर्ला । नभए केटाहरुको तर्फबाट म आफैले माफी माग्नु पर्ला भनेर सम्बन्धित घरमा गएँ । घरमूली भेटिएनन् । उनकी छोरीको भनाईअनुसार मेरो छोरा होइन रहेछ । गल्ती गर्ने केटाहरु अरुहरु नै रहेछन् । कुरो बुझेर म फर्केर आएँ । कटुवालेले कुरियाको एक जनाका दरले बेनी जि.प्र.का.मा हाजिर हुन जानु, नगएमा रु ५०० जरिवाना हुनेछ भनेर घोक हाल्यो । कुरो त्यही रहेछ । गाउँलेहरु लस्कर लागेर बेनीतिर लागे । मलाई कसैले सम्झेन ।
जिप्रकाले केही केटाहरुलाई पक्राउ गरेर लगिसकेको रहेछ । गाउँलेहरुको मन शुद्ध हुन्थ्यो भने गाउँमै सरसल्लाह र छलफल गरिने थियो । केटाहरुमध्ये सबैभन्दा ठूलो मेरै छोरो भएकोले प्रहरी प्रशासनलाई प्रभावमा पारेर फसाउने, बेइज्जत गर्ने मनसाय रहेछ । जति नै ठूलो भए पनि मेरो छोरो नाबालिग नै थियो । १६ वर्ष पुगेको थिएन । सबैले नेता त्यही हो । त्यसलाई कार्यवाही गर्नुपर्छ भनेर कुरो लगाएछन् । मिलापत्र गरौं भन्दा फर्सी निकाल्दा सोलार प्यानल लडेर बिग्रिएको हुनाले लाखौंमा क्षतिपूर्ति दिनुपर्ने अड्डी लिइयो । लाखौं क्षतिपूर्ति दिनुपर्ने नोक्सान भएको पनि थिएन र मागेजति क्षतिपूर्ति दिनसक्ने अवस्था पनि थिएन । त्यसैले ठिकै छ, केटाकेटीहरुले गल्ती गरेछन्, मुद्दा दर्ता गर, छानविन राम्रो गरिदेउ भनेर हिँड्े ।
सार्वजनिक अपराधमा मुद्दा गर्ने र गाउँले एकमुख भएर पक्ष लिएपछि कारवाही गराउन र भनेजति क्षतिपूर्ति तिराउन सकिन्छ भन्ने उनीहरुलाई लागेको रहेछ । तर त्यसो भएन । नाबालक भएको हुनाले अपराध लागेन । त्यसरी फसाउन खोज्नेहरु एमाले नै थिए ।
मेरो श्रीमति बिरामी परिन् । तीन तीन वर्षसम्म लगातर उपचार चल्यो । तर ज्यान बचाउन सकिएन । तीन तीनवटी छोरीहरु कलेज पढ्दै थिए । अर्थ उपार्जनको कुनै बाटो थिएन । आर्थिक समस्या हुने नै भयो । अप्ठ्यारो विषयको ट्युसन फि महिनावारी ९००० तिर्नुपथ्र्यो । खाना खर्च, कोठा भाडा समेत गर्दा मासिक २०÷२२ हजार लाग्थ्यो । व्यवहार रिण सापटमै चल्दै आएको थियो । पार्टीका साथीहरुलाई कमसेकम छोरीहरुलाई छात्रवृत्ति मिलाइदिन अनुरोध गरें । एउटी छोरीलाई मिलाइदिएको कुरा एकजना क्याम्पस व्यवस्थापन समितिका सदस्य रहेका काँग्रेसी नेताको मुखबाट सुने । तर परीक्षाको मुखैमा आएर होइन भनियो । तीनदिनभित्र फि वापतको दश हजार नबुझाए परीक्षामा सामेल हुन नपाइने भन्ने सूचना आयो । परीक्षा दिन नपाइने भयो भनेर छोरीले दुःख मानी । छोरीसँगै मेरो मन पनि रोयो । रातभर निद्रा परेन । भोलिपल्ट इष्टमित्र आफन्तहरुसँग सुन मागेर धरौटी राखेर फि बुझाएँ ।
क्याम्पस सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नभएको हो कि परीक्षाबाट वञ्चित बनाउने षडन्त्र रचिएको हो कुन्नी ? पार्टीका ठूला भनिने नेताहरु सबैलाई फोन गरेँ । कसैबाट कुनै सहयोग भएन । अरुहरुलाई भने सहयोगको लागि पहल गरिदिने गरेको देखे जाने सुनेको हृुनाले आशा लाग्ने तर आफूलाई कसैले कतैबाट कुनै सहयोग गरेन ।
मेरो कान्छी दिदीको छोराको अंशको बारेमा कतैबाट मेलमिलाप हुने नदेखिएपछि अदालतमा मुद्दा नदिइ नहुने भो । सर्वोच्च सम्म पुग्योे । तलदेखि माथिसम्म सबै अदालतले जिताई दियो । “मेरो सन्तान हो होइन भन्ने किटान गर्न डिएनए टेष्ट गराई पाँउ” भनेर जिप्रकामा निवेदन परेछ । त्यतिखेर ने.क.पा.को. सरकार थियो । म्याग्दीबाट पनि एमालेले जितेको थियो । सत्तापक्षको सांसदलाई फोन गरेर अदालतले टुंगो लाएको विषय भएकोले अदालतको निर्णय अनुसार गर भनिदिनका लागि अनुरोध गरियो । तर कतैबाट सुनुवाई भएन । दुःख पाइयो । जिल्लादेखि सर्वोच्चसम्मको फैसलाको प्रतिलिपि पेस गर्दा पनि पार्टीको तर्फबाट सत्य कुरा अघि बढाइदिने, न्याय दिलाउने पहल भएन ।
पार्टीबाट निराश भएको मैले २०७७ सालदेखि पार्टी सदस्यता रिन्यु गर्न छोडिदिएँ । स्वतन्त्र पेशा व्यवसाय गरेर जीवन यापन गर्ने मनसायले बङ्गुर पालन गर्ने निर्णय गरेर २०७८ सालमा बैंकबाट बीस लाख ऋण लिएँ । खोर बनाए, बङ्गुरका पाठाहरु हालेँ । २०७९ साल श्रावण १० गतेको घटना हो । बिहान बङ्गुरलाई दाना दिन जाँदा दाना राख्ने एउटा डुँडमा मलमुत्र देखियो । त्यसलाई त सफाइ गरेर दान दिइयो । बाँकी डुडमा हेरिएन । दाना दिइयो । केही समयपछि खोरमा पुगेर हेर्दा कोही मरिसकेका थिए, कोहीले वान्ता गर्दैथिए । आखिर सफा गरिएको डुँडको चारा खानेबाहेक अरु सबै मरे ।
मिलको ढुटो भुसले बङ्गुरको दानाको गर्जो टर्ला भनेर कुटानीपिसानी गर्ने मिल राखेको थियो । २०७९ साल फाल्गुन ४ गते राती १ बजेतिर कसैको ट्याक्टरको ठक्करले हो वा सामानमा अल्झेर हो विद्युतको तारहरु तानेर चुडाइदिएछ । मिल नै भताभुङ्ग परेछ । राती १ बजे आएको ट्रयाक्टर धेरै टाढा त अवश्य गएन होला । डडुवा, गाजने, चिप्लेटीतिर फोन गरेर सोधखोज गरियो । कसैले पनि आफ्नो गाउँठाउँतिर रातीमा ट्रयाक्टर आएको चाल पाएनौ भने । सोधखोज गरिदिनका लागि जि.प्र.का.मा निवेदन दिएँ । कतैबाट केही पत्ताखबर लागेन । कुनै साथीले के भयो भनेर फोन कलसम्म गरेन ।
हालसालै पनि अचानक पालै पालो उन्नाइस वटा बंङ्गुर मरे । आँखाले देखेको छैन । कसलाई भन्ने ? पेसा व्यवसायबाट दुई पैसा आम्दानी गर्ने, बैंकको साँवाव्याज तिर्ने, घर गुजरा चलाउने मेरा सबै योजनाहरु डामाडोल भए । अघिल्लो साल अलिकति ऋण खेजेर एकवर्षलाई थामेको हो । यो वर्ष कसरी चलाउने । कसैको षडयन्त्र हो वा संयोग हो सुकुम्वासी बन्ने भइयो । यस्ता नाना थरिका हानी नोक्सानी मेरो ज्यान पनि गोरे बहादुर खपाङ्गी झै अल्पकालमै जान्छ कि ? मरिन्छ कि? , मारिइन्छ कि भन्ने डर लाग्न थाल्यो । मन विचलित हुन गयो भनेर कोसँग गुनासो गर्ने ?
पशु धनको क्षति भएको प्रकृया पु¥याए निवेदन गर्दा क्षतिपूर्ति दिन्छ भन्ने सुनेकोले भेट्नेरी हाकीमसँग सोधपुछ गरेर मरेका पशुको फोटो सहित मुचुल्का वडाको सिफारिस राखेर पेश गरेको हो तर ल्याब रिपोर्ट भएन भनेर हिस्स पारिदियो । मरेका पशुको फोटो प्रमाण र नगर वडाको सिफारिस छँदै थियो । के को लागि रिपोर्ट चाहिने रहेछ कुन्नी? पशुको पोष्टमार्टम गराउने चलन गाउँमा थिएन, गरिएन ।
मेरा चिनाजानका साथीभाइहरु सबैलाई मेरो खति क्षति गराउनेको सुराकी पाएमा खबर गरिदिन अनुरोध गर्दछु । के गर्दा ठिक होला भन्ने सुझाव सल्लाहको अपेक्षा पनि राखेको छु । र, आफूले भोगेको दुःख, कष्ट र मर्म पोखेर मन हलुङ्गो बनाउन खोजेको मात्र होइन, मेरो सल्लाह मान्नुहुन्छ भने एमाले नामको पार्टीमा लाग्ने भूल नगर्नुहोला भन्न पनि चाहन्छु । त्यसको कारण पनि स्पष्ट रुपमा जानकारी गराउँछु ः
ड्ड एमाले विल्कुल जातिवादी पार्टी हो । बाहुनवादी पार्टी हो । जनैवादी पार्टी हो ।
ड्ड समानता र न्यायको मुकुण्डो मात्र हो । व्यवहारमा विभेदवादी चरीत्र छ ।
ड्ड गुटबन्दी, नातावाद र कृपावादलाई प्रश्रय दिने गरेको छ ।
ड्ड कम्युनिष्ट सिद्दान्तबाट च्युत भएर नवउदारवादमा चुर्लुम्म डुबेको छ ।
ड्ड चाकडी,चापलुसी, सााठगाँठ, गुटबन्दी, मिलेमतोविना कसैले न्याय पाउनसक्ने अवस्थाछैन ।
ड्ड नेतृत्व घोर दक्षिणपन्थको शिकार भैसकेको छ ।
ड्ड इमानदार र कर्तव्यनिष्ठ कार्यकर्ताको कुनै मूल्याङ्न छैन ।
ड्ड राष्ट्रियता, जनजीविका र जनताको समस्याबाट पार्टी कोसौं पर भागिसकेको छ ।
यस वर्ष पनि अलिकति सावा घटाउने ब्याज तिर्ने भनेको हो । ३६५ दिन दुःख ग¥यो नोक्सान गरिदिनेले एकै क्षण एकै रातमा सारा योजना तुहाइदिन सक्ने हुदो रहेछ । दुःखको ठाउँमा दुःख, ऋणमाथि ऋण थपिने उता बैंकको व्याज थपिने भो । बरु यसै सुकुम्बासी हुनु, उसै सुकुम्बासी हुनु, व्यवसाय नै नगर्ने विचार गरेको छु । व्यवसाय गर्न नखोजे अब्बलमा हुने त लिलामी नै हो । कमसेकम दुःख र तनाव त नहुने भो ।
कर्मचारी पनि एमाले प्रहरी पनि एमाले सबै एमाले उसोत म पनि एमाले पछि व्यवसायमा समेत धक्का दिएकाले बोली वचनको भएपनि सहयोग पाईन्छ कि भनेर अर्को पार्टीमा प्रवेश गरेको यो उमेरमा के गर्न सकिन्छ र ? छोडेको पार्टीलाई हरो पन्छीयो ! नयाँ पार्टीलाई घाडो भइने होला । पुरानाहरुले एक अवधि काम गरेको मान्छे कतै त्रुटि पाईन्छ कि भनेर खोज तलास गर्दै पो होलान कि ? पुरानो मुद्दा उल्ट्याउन पनि बेर छैन ।
मेरो बाजेबराजु पाल्पाबाट आएका रहेछन् । ढोल्ठाने राजाले विवाह गरी ल्याएकी छोरीको रेखदेख गर्नका लागि भनेर पाल्पाली राजाले पठाएका रहेछन् । जुन जङ्गलबाट मृग मारेर ल्यायो त्यही जङ्गल विर्ता पाउने चलन थियो रे । त्यसरी शिकार विर्ता पाएका जङ्गल पाखाहरु ऋण पनि हाम्रो वंशको नाममा रहेका कागजपत्रहरु छन् । पाल्पाबाट आउँदा घर्ती थर थियो रे । कसरी कहिले पाइजा भयो कुन्नी ? राजाले त जनै दिन्छु भनेका हुन् रे । बाजेबराजुले मानेनछन् । बराजु बाजेले जनै भिरेका भए आज हामी सन्तानहरुले जातीय विभेद भोग्नु पर्दैनथ्यो कि ? अल्पसंख्यक समुदायको सदस्य रहेर जिउन गाह्रो भो ।
राजनितीमा जनै, व्यवसायमा पनि जनै चाहिदो रहेछ कि जस्तो लाग्दैछ यतिखेर । जिल्लाबासी सम्पूर्ण जनै नभएकाहरु थरगोत्रहरु बेलैमा चेत्नुपर्ने पो हो कि जस्तो लाग्न थालेको छ । एमाले भनेको जातवादी पार्टी हो, जनैवादी पार्टी हो भन्ने कुरा हिजोदेखि आजसम्म जिल्लामा घटेका घटनाहरुले पुष्टि गर्छन् । चुनावकै कुरा गर्ने हो भने पनि जातिवादीहरुले आफ्नै पार्टीका उमेदबारहरुलाई पनि हराउने गरेका उदाहरणहरु छन् । मलाई बुढेशकालमा किन पार्टी छाडेको होला भनेर सोध्नेहरुलाई उत्तर दिएको मात्र हो । नभएका मुद्दा मामला फसाउन खोज्नेहरुले कुनै दिन गोरे बहादुर खपाङ्गीको झै ज्यानै समेत लिन सक्दैनन् भन्न सकिनन । त्यस्तै खालको षडयन्त्र ममाथि पनि हुनसक्छ । कथम मेरो मृत्यु अकालमै भएछ भने पनि कसैलाई केही फरक नपर्ला तर बाँच्नेहरुका लागि शिक्षा बन्न सक्यो भने सन्तोष मान्ने ठाउँ हुन्थ्यो कि ?
बेनी नगरपालिका ५, नयाँगाउँ
नोट ः यो लेखमा उल्लेखित विषयहरु लेखकका निजी बिचारहरु हुन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...