बेनी, ः नयाँ स्वरुपमा निर्माण भएको ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ ।
म्युजिक नेपालको युट्युव च्यानल मार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । म्याग्दी जेसीजले पुनर्निर्माण गरेको गीतको म्युजिक भिडियोको निर्देशन डिके चोचाङ्गी पुन मगरले गर्नुभएको छ ।
बेनीबजार, गलेश्वर र लभ्लिहिलमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा रघुगंगा गाउँपालिका–७, चिमखोलाबाट सुरुआत भएर पछिल्लो समय लोकप्रिय बनेको थालीनाचलाई समेत समावेश गरिएको छ । मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गरेको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारले नृत्य र अभिनय गरेका छन् ।
यो गितको रचना स्व. टिकाबहादुर श्रेष्ठले गर्नुभएको हो । स्व. श्रेष्ठ र उहाँकी श्रीमती मन छन्त्यालले पहिलोपटक बेनीको बजार गीत गाउनुभएको थियो । विसं २०३१ मा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको यो गीतलाई पछि राजु परियार र बिमाकुमारी दुराको स्वरमा समेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो ।
वि.सं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलोपटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाउनुभएको थियो । उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो ।
https://www.youtube.com/watch?v=sc5cSdKUoN8