जोमसोम ः मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जनप्रतिनिधीको हैसीयतमा प्राप्त गरेको सेवा सुविधा सामाजिक काममा खर्चनुभएको छ ।
अध्यक्ष लालचनले निर्वाचित भएदेखि जनप्रतिनिधीको हैसियतमा प्राप्त गरेको सेवा सुविधाबाट पालिकाका बस्तिहरुलाई उज्यालो बनाउने र पर्यटन प्रर्वद्धनको क्षेत्रमा खर्चनुभएको हो । अध्यक्षको तलबसुबिधा वापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।
“पाँच वटा वडा रहेको घरपझोङको सबै बस्तिहरुलाइ रातको समयमा उज्यालो बनाउन अध्यक्षले पाउने सेवा सुविधा वापतको रकमबाट स्टेप लाइट किनेर विद्यूतको पोलमा जडान गरिएको छ,” उहाँले भन्नुुभयो “वडा नम्बर १ को छैरो, चिमाङ र वडा नम्बर ३ को पुथाङ एयरपोर्ट बाहेकको धेरै ठाउँमा सडक बत्ती जडान भएको छ ।”
ठिनी, जोमसोम, एक्केभट्टी, स्याङ र मार्फामा वत्ती जडान गरेर रातको समयमा झिलीमिली बनाइएको छ । सडक बत्तीको महशुल गाउँपालिकाले ब्यहोने निर्णय भएको छ । घरपझोङका बस्तिहरु रातको समयमा झलमल्ल र मनमोहक देखिन्छन् ।
बाँकी ठाउँमा पनि बत्ती जडानको तयारी गरेको अध्यक्ष लालचनले बताउनुभयो । पर्यटकीय बस्तीहरुको सौन्दर्यकरण र सुरक्षाका लागि चुनावको समयमा गरेको प्रतिवद्धता अनुसार सडक वत्ती जडान गरेको लालचनले बताउनुभयो ।
“मैले जनप्रतिनिधीको हैसियतमा प्राप्त गर्ने सेवा सुुविधा वापतको रकमलाई कार्यपालिकाको बैठकले गर्ने निर्णय अनुसार आवश्यक ठाउँ र योजनामा खर्च गरेको छु,” उहाँले भन्नुभयो “निर्वाचित भएको करिब साढे दुई वर्षको अवधिमा करिब रु. छ लाख सामाजिक क्षेत्रमा खर्च भएको छ ।”
ब्यवसायिक पृष्ठभूमिका लालचन नेपाली काँग्रेसबाट गाउँपालिकाको अध्यक्षमा उमेद्वार बन्नुभएको थियो । उहाँको जनप्रतिनिधी हुनुअघि जापानमा रेष्टुरेष्ट व्यवसाय थियो । परिवारका सदस्यहरुले ब्यवसायलाई निरन्तरता दिएका छन् । गण्डकी प्रदेशका गाउँपालिकाका अध्यक्षले मासिक रु. ३६ हजार दुई सयका दरले पारिश्रमिक पाउने नीतिगत व्यवस्था छ ।
घरपझोङका सबै बस्तिको डाडामा विद्युतीय होडिङ बोर्ड राख्न थालिएको छ । बेनी–जोमसोम–कोरला सडक र पोखरा–जोमसोम हवाई उडानका क्रममा देखिने गरेर मार्फा र स्याङमा मेटलको विद्युतीय होडिङ बोर्ड राखिएको छ । जोमसोम र ठिनीमा पनि सो बोर्ड राखिने गाउँपालिकाले जनाएको छ । गाउँको पहिचानका साथै पाहुनाहरुले चिन्न सजिलो हुने अपेक्षा गरिएको छ ।
अध्यक्ष लालचनले सेवा सुविधा वापत पाएको रकमबाटै जोमसोममा रहेको मातृ चक्रलाई रंगरोगन र व्यवस्थापन गरिएको छ । करिब २० वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गााको पर्खाल चिनेर गोलो आकारको बनाएका थिए । मातृ चक्रलाई गाउँपालिकाले आमाको गर्भमा हुँदाको कल्पना गर्न मिल्ने गरि घुम्ने र आमाको सम्मान गर्ने ठाउँको रुपमा विकास गर्न खोजेको जनाएको छ ।