भुरुङ्ग तातोपानीमा पुख्यौली नृत्य प्रतियोगिता

Gandaki Ghumau

सुरेन गुरुङ
भुरुङ्ग–तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा बिहिबार देखि पुख्र्यौली नाच प्रतियोगिता शुरु भएको छ ।

पुन,मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पूजाको अवसरमा अन्नपूर्ण गाउँपालिका–२ को वडा कार्यालयले भुरुङ गाउँमा आयोजना गरेको प्रतियोगितामा विभिन्न १२ समूहले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ८५ हजार ५००, दोस्रो हुनेलाई रु ६० हजार र तृतीय हुनेलाई रु ४५ हजारको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने प्रतियोगिताका मूल संयोजकसमेत रहनुभएका वडा अध्यक्ष ओमप्रसाद फगामीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइ मार्ने समूह, भाका तथा शब्द छनौट, पोशाक, अनुशासनको विद्यामा नगद प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।

Shreekrishna
Gunasthariya Shiksya

“पुख्र्यौली नाच पुन, मगर समुदायमा पुर्खौ देखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाचयुवा पुस्ताले अगाडी बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो, नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा हामीले यो प्रतियोगिता अघि बढाएका हौँ’’– वडा अध्यक्ष फगामीले भन्नुभयो । प्रतियोगितामा सहभागि पुख्र्यौलीनाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवति, बालबालिका र बृद्धबृद्धा समेतले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको पहिलो दिन अन्नपूर्ण गाउँपालिका –१ दोवा, २ नम्बर वडा भुरुङ र ४ नम्बर वडा नारच्याङ लेक गाउँको पुख्र्यौली समूहको प्रस्तुती राखिएको आयोजकले जनाएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले रु तीन लाख सहयोग गरेको छ । स्वदेश तथा विदेशमा रहेका भुरुङता तोपानीवासीको नेतृत्वमा प्रतियोगिता सम्पन्न गर्न रु १९ लाख बढी सहयोग जुटेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष भारतकुमार पुनमगरले समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको पुख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवर्द्धन र प्रचारप्रसार गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई सांस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली प्रतियोगिताले भुरुङ गाउँमा सांस्कृतिक उत्सव छाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...