म्याग्दीको मालिका धुरी नजिकै सडक पुग्यो

Gandaki Pardesh notice

बेनी, सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरीको यात्राअवधी छोटिएको छ ।

मालिका गाउँपालिका–७ बिम देखि बिमवाङ– धौलागंगा हुदै मालिका धुरी नजिकैको नागीथला सम्म सडक पुगेको हो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिका धुरी पुग्ने पर्यटक र भक्तजनलाई सहजका साथै यात्राअवधी छोटिएको बताउनुभयो ।

“मालिकामा पुजाआजा, दर्शन र दृष्य अवलोकन गर्नका लागि अब अघिल्लै दिन गएर टहरा, ओडारमा बास बस्नुपर्दैन,” उहाँले भन्नुभयो “बिम देखि नागीथला सम्म गाडीमा १ घण्टा र नागीथला देखि मालिका धुरीसम्म करिब ४५ मिनेट पैदलयात्रा गरेपछि पुगिने भएको छ ।”

Shreekrishna hardwear in news

मालिका गाउँपालिकाले खारा–बिम सडक स्तरोन्नति र मालिका धुरी नजिकैको नागीथलामा सडक पु¥याउन वि.स. २०७८ माघमा दिव्यज्योती–नाना जेभीसँग रु. १ करोड ५९ लाख ५४ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दिपक सापकोटाले सो योजना मार्फत नागीथलासम्म २ किलोमिटर नयाँ मार्ग खनिएको र खारा क्षेत्रमा सडक स्तरोन्नति गर्ने काम सकिएको जानकारी दिनुभयो ।

वि.स. २०७९ असारमा सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीका प्रतिनिधीको ढिलासुस्ति र लापरबाहीका कारण ढिलाई भएको हो । पछिल्लो पटक काम गर्नुभएका निर्माण कम्पनीका प्रतिनिधी नारायण जिसीले अधिल्ला प्रतिनिधीले २ वर्षसम्म नगरेको काम आफूले २ महिनामै सकेको बताउनुभयो ।

Bhautik ministry notice about road

मालिका गाउँपालिकाको वडा नं ७ र ६ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । बीस भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ ।

दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । “सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको भीड लाग्छ,” उहाँले भन्नुभयो “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।”

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ ।

सडक पुगेको नागीथला देखि मालिका धुरीसम्म ३ वर्षअघि गण्डकी प्रदेश सरकार अन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले रु. ३९ लाख २० हजार लगानीमा १.५ मिटर चौडाई फराकिलो १ हजार २७२ मिटर ढुङ्गाको सिढी सहितको पदमार्ग निर्माण गरेको थियो ।

सडक र पदमार्ग बनेपछि मालिकाको यात्राअवधि छोटिएको बिमका टिकाबहादुर जुग्जालीले बताउनुभयो । मालिका गाउँपालिकाले यसअघि र. ८३ लाखको लागतमा बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको थियो ।

रघुगङ्गा गाउँपालिकालले ठाडाखानीदेखि पहिरेनीसम्म करिब ५किलोमिटर सडक र बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा ३ किलोमिटर पैदलमार्ग निर्माण गरेको छ । सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगिने मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...